प्रदेशसभा बैठकमा काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड, सभामुखद्धारा बैठक निरन्तर



बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।

प्रदेश नम्बर ५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने रणनीतिमा देखिएको छ । सोमबारको प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो ।

सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर सोमबारको प्रदेशसभाको दृश्य त्यस्तो रहेन । बलजफ्ती सभामुखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोडमा उत्रिए ।

प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले बबाल मच्चाउँदै होहल्ला जारी राखेपनि सभामुखले सांसदहरुलाई बोल्न दिएका छन् । तनावकै बीच केही सत्ता पक्षका सांसदहरुले आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव लगेपछि तनाव बढेको हो । सोही क्रममा आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध पारेको थियो ।

पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा सभामुखले नेकपाका सांसद भोज प्रसाद श्रेष्ठ र विष्णु पन्थी, हरि रिजाल, दिपेन्द्र पुन, जनमोर्चाकी तारा जिसी र संघीय समाजवादी पार्टीका सहश्राम यादवलाई आफ्नो धारणाराख्न समय दिए ।

बोल्ने क्रममा सत्ता पक्षकै ससांदहरुले समेत जबरजस्ती प्रतिवेदन ल्याएको भन्दे विरोध गरेका थिए । नेकपा संसाद भोज प्रसाद श्रेष्ठले दाङ राजधानी बनाउनु पर्ने कारण र प्रदेश सभाले बनाएको विज्ञ टोली प्रतिवेदन सार्वजनिक माग गरे । लोकतन्त्रमा राजधानी जस्तो महत्त्वपूर्ण विषयमा बोल्न नदिनु गतल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्