प्रदेश १ का मुख्यमन्त्री राई र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता



विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको हो ।

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले कार्य सम्पादन सम्झौता गर्नुभएको हो । बाँकी मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताउनु भएको छ । उहाँले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री राईले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब मन्त्रीहरुसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्नु हुनेछ ।

प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको हो । त्यस्तै प्रदेश सुशासन ऐन र नियमावली को व्यवस्थालाई आत्मसाथ गर्दे सम्झौता कार्यक्रमको थालनी भएको हो ।

प्रतिक्रिया दिनुहोस्