सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने काँग्रेसको तयारी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार विहान ९ बजे बसेको संस्थापन पक्षीय शीर्ष नेताको बैठकले संसदको विशेष अधिवेशन माग गर्ने निष्कर्ष निकालेको छ ।

असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरुद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाममा सरकार चुक्यो । महामारीका बेला पनि भ्रष्टाचारका कुरा आइरहेका छन् । आम जनताको जीवन कठिन हुँदै गएको छ । बेरोजगारी बढेको छ , कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, यी विषयबारे छलफल गर्ने तथा केन्द्रीय समितिमा छलफलपछि देशैभरि विरोधका कार्यक्रम गर्ने निर्णय भएको छ ।

ठूला भ्रष्टाचार काण्डमा सरकार नै जोडिएकोले देशैव्यापी विरोध गर्न लागिएको कांग्रेसले जनाएको छ ।

पदाधिकारी बैठकले पार्टीभित्र देखिएको आन्तरिक बिवादबारे पनि छलफल गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीविरुद्ध विरोध पत्र दर्ता गरेका थिए ।

आजको बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका , भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेको छ । 

महतकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी कार्यालयमा दर्ता गरिएको विरोधपत्रको केन्द्रीय समितिमा स्पष्टीकरण दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्