पेट्रोलियमभन्दा मोबाइल धेरै आयात



काठमाडौं । कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको छ ।

मोबाइलको माग बढेका कारण सबैभन्दा बढी आयात हुने डिजेल/पेट्रोललाई उछिन्दै मोबाइलको आयात पहिलो नम्बरमा उक्लिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा रू ७ अर्ब ९४ करोडको मोबाइल आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा रू। २ अर्ब ८४ करोडले बढी हो । यस अवधिमा अन्य बेला सबैभन्दा बढी आयात हुने डिजेलरपेट्रोलको आयात भने रू ५ अर्ब ५ करोड मात्रै रहेको छ ।

नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष एवम् सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस ग्रूपका कार्यकारी निर्देशक दीपक मल्होत्राका अनुसार बन्दाबन्दी अगाडि चोर बाटो हुँदै भित्रिने मोबाइलले बजारको ४० प्रतिशत अंश ओगटेको थियो । बन्दाबन्दीले अनधिकृत आयातको बाटो रोकिँदा आयात बढेको देखिएको उनले बताए ।

चोरी पैठारीको बजार शून्यमा झरेको र बन्दाबन्दीले अनलाइन कक्षा, भच्र्युल मिटिङ र मोबाइल फोन एवम् इन्टरनेट प्रयोगकर्ता बढेकाले मोबाइल ग्याजेटको माग बढेको उनी बताउँछन् । चोरबाटो हुँदै आउने मोबाइल फोनको हिसाब गर्दा अघिल्ला वर्षहरूमा पनि करीब यही बराबरको मोबाइल आयात हुने गरेको उनको भनाइ छ । ‘सरकारले २०७५/७६ को बजेटबाट कर ७ प्रतिशतबाट बढाएर १६ प्रतिशतसम्म पुर्‍याएपछि चोरबाटो हुँदै भित्रिने मोबाइल फोनको संख्या बढेको थियो,’ उनले भने । चोर बाटोबाट मोबाइल भित्रिन रोकिए चालू आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको मोबाइल फोन आयात हुने उनी बताउँछन् । गत आर्थिक वर्षमा नेपालमा रू। १८ अर्बको मोबाइल फोन आयात भएको थियो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको शुरूदेखि सुधारिँदै आएको वैदेशिक व्यापार घाटा यस वर्षको पहिलो २ महिनामा पनि १७ प्रतिशतले सुधार आएको छ । आयातमा आएको गिरावटका कारण निर्यात सामान्य बढे पनि वैदेशिक व्यापारघाटामा सुधार आएको देखिएको हो । चालू आवको पहिलो २ महिनामा नेपालले रू १ खर्ब ७८ अर्बको सामान आयात गरेको छ, जुन गतवर्षको भन्दा २२ प्रतिशतले कम हो ।

निर्यातमा सामान्य सुधार आए पनि आयातमा आएको व्यापक गिरावटका कारण वैदेशिक व्यापार पनि २० प्रतिशतले खुम्चिएको छ । यस अवधिमा खाद्यान्न, मोबाइल फोनलगायत वस्तुको आयात बढेको छ तर औद्योगिक उत्पादनमा प्रयोग हुने डिजेल, मेशिनरी सामान, पार्टपुर्जा, एमएस बिलेट, हटरोल सीटलगायत सामग्रीको आयात घटेको देखिन्छ । (आर्थिक अभियान)

 

प्रतिक्रिया दिनुहोस्