भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेबाट कोरोना जोखिम बढ्दै



काठमाडौं । लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ । तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन ।

यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन् । उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो । लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम उच्च रहेको छ । आगामी दिनमा उनीहरुका कारण विशेषगरी काठमाडौं संक्रमणको उच्च जोखिममा पर्ने सरोकारवाला बताउँछन् ।

चैत १० गते मन्त्रिपरिषद् बैठकले नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि पटकपटक सीमानाका बन्द हुने निर्णयले निरन्तरता पाइरहेको छ। पछिल्लो पटक भदौ २९ को सरकारी निर्णयअनुसार असोज मसान्तसम्म सीमानाका बन्द हुनेछन् । मालवाहक गाडीबाहेक अन्य सीमानाकाबाट आवतजावत गर्न नपाइने निर्णय भए पनि भारतबाट मानिस लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्