जिवित जन्मेको बच्चालाई अस्पतालले फ्याँक्यो, रोइरहेको देखेपछि ८ घण्टापछि बल्ल उपचार



जिवित जन्मेको शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फोहोरमा फ्याँकेर थापाथलीस्थित परोपकार प्रसुती गृहले चरम लापरवाही गरेको छ ।

सिन्धुली गोलन्जोर–२ का उत्तम घिमिरे र श्रीमती अन्जु थापा दम्पत्तिको शिशुको उपचारमा उक्त अस्पतालले यस्तो लापरबाही गरेको हो ।

गर्भवती श्रीमतीलाई गाह्रो भएपछि उत्तमले तुरुन्त अस्पताल पुर्याएका थिए । अन्जुलाई रक्तश्राव भएपछि नर्सहरुले बच्चा जन्मन लागेको बताएका थिए ।

श्रीमान् उत्तमका अनुसार श्रीमती मञ्जुलाई प्रसुती कक्षमा नलगी सामान्य वार्डमै सुत्केरी गराउने औषधि दिइएको थियो । त्यसपछि सोमबार विहान २ बजे (राति) अन्जुले बच्चालाई जन्म दिइन् ।

बच्चाको तौल ६ सय ग्राम मात्र भएको र समय नपुगी (प्रिम्याच्योर) जन्मेकाले बच्चा नबाँच्ने चिकित्सकले बताए । ‘डाक्टरले भनेपछि हामीले विश्वास गर्यौं,’ उत्तम भन्छन्, ‘त्यसपछि हामीलाई बच्चा हेर्न दिएनन् । कोपारामा राखेर फोहोर जम्मा गर्ने जस्तो कोठामा लगेर राखे ।’ स्वास्थ्यकर्मीले उत्तम दम्पत्तीलाई बच्चाको मृत्यु भएपछि अन्तिम संस्कार गर्न लैजानु भने ।

यतिसम्मकी अस्पतालले भर्खर जन्मेको शिशुको मृत्यु प्रमाणपत्र नै बनाइदिए । अस्पतालले नै आफ्नो शिशु मरेको बताएपछि उत्तम र अन्जुले बच्चाको माया मारे । उत्तम र अन्जु छक्क त त्यहाँ परे जहाँ उनीहरुले फ्याँकेको शिशुलाई ८ घण्टापछि गएर हेर्दा बच्चा रोइरहेको थियो ।

उनका अनुसार, बच्चाले हातखुट्टा फ्याँकेर रोइरहेको थियो, त्यसपछि बच्चा बाँच्छ क्यारे भनेर उनले नर्सलाई भने । ‘त्यतिखेर राउन्डमा अर्को डाक्टर आउनुभएको थियो । मैले उहाँलाई लगेर बच्चालाई देखाएँ । उहाँले बच्चालाई भेन्टिलेटरमा राख्दा बाँच्न सक्छ भन्नु भयो’ उत्तमले भने, ‘त्यसपछि शिशु फ्याँकिएको ८ घण्टामा बल्ल उसको उपचार सुरू गरियो । सास छउन्जेल आस भनेझैं शिशु बौरिने आस पलायो ।’

अहिले शिशु भेन्टिलेटमा हातखुट्टा फ्याँकेर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्