सवारी दुर्घटनामा परी मृत्यु



काठमाडौं । मकवानपुर, राक्सिराङ गाउँपालिका-३ मैनाटारस्थित सडकमा ग.१ ज ७१७५ नम्बरको बलेरो जीप सडकबाट करिब २५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँ बस्ने वीरबहादुर तितुङको छोरा १३ वर्षीय रिजन तितुङ सहित दुई जनाको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाउँपालिका मैनाटार बस्ने २७ वर्षीय सुजन शाहीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-८ पिपिरी चोकस्थित सडकमा भे.१ ख १६५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ बस्ने ७० वर्षीया सुरतिया थारुको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१४ सुन्दरवस्तीस्थित सडकमा ना.३४ प ६८८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश भुजेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्