कोरोना महामरीबीच ७ हजार नेपाली कामदार विदेशिए



काठमाडौं । सरकारले वैदेशिक रोजगारीको श्रमस्वीकृति दिन खुला गरेसँगै नेपाली कामदारहरू वैदेशिक रोजगारमा जाने क्रम बढेको छ ।

नयाँ श्रमस्वीकृति तथा पुनः श्रमस्वीकृति लिएर नेपाली कामदारहरू रोजगारीका लागि श्रम गन्तव्य मुलुकमा जाने थालेका हुन् । सरकारले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै गत फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन बन्द गरेको थियो । असार लागेयता सरकारले क्रमैसँग वैदेशिक रोजगारीलाई खोल्दै शुरूमा पुनः श्रमस्वीकृति खुला गर्‍यो । असार १४ गते पुनः श्रमस्वीकृति पुनः सुचारू गरेको सरकारले भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो ।

त्यसयता ७ हजारभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीका लागि श्रम गन्तव्यमा गइसकेको वैदेशिक रोजगार विभागले बताएको छ । विभागका अनुसार बन्दाबन्दी पछि गत शुक्रवारसम्म ७ हजार २९० नेपाली कामदार वैदेशिक रोजगारीका लागि उडिसकेका छन् । त्यसमध्ये ११७ जना नयाँ श्रमस्वीकृति लिएर जानेहरू भएको म्यानपावर व्यवसायीहरूले बताएका छन् ।

सरकारले श्रमस्वीकृति दिन स्थगन गरेपछि बिदामा आएका ३ लाख २८ हजारभन्दा बढी कामदार नेपालमै रोकिएका थिए । साथै, नयाँ भिषा आएर पनि श्रमस्वीकति नपाउँदा १ लाख १५ हजार कामदार वैदेशिक रोजगारमा जान पाएका थिएनन् । अहिले श्रमस्वीकृति दिन शुरू गरेपछि उनीहरू वैदेशिक रोजगारीमा जान लागेको व्यवसायीहरूको भनाइ छ । (आर्थिक अभियान)

प्रतिक्रिया दिनुहोस्