पार्टीलाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य बनाउछौँ : कमल थापा 



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्ति बनाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू राजनैतिक कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे ।

पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए ।

राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीहरुलाई विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्