‘कबुल गरिएका बाचा पूरा गर्न सकिएन’ : प्रधानमन्त्री ओली



संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा गर्न नसकिएको बताएका छन् ।

उनले भने, ‘गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुनेथियो ।’

उनले कोरोना महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुन नसकेको पनि उल्लेख गरे । प्रधानमन्त्रीले भने, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’

प्रतिक्रिया दिनुहोस्