भक्तपुर घटनाको पोष्टमार्टम रिपोर्ट : छोरालाई चार पटक र आमालाई तीन पटक टाउकोमा दाउ प्रहार



काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका थिए, अधिकारी दम्पती र छोरा ।शुक्रवार साँझ मृत फेला परेका उनीहरुको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा शव परीक्षण गरिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप अधिकारी पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।

‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हिर्काएको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट छ ।’

सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

घरको पहिलो तल्ला जहाँ सुशान्त मृत भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने चक्कु फेला परेको थियो । सुदीपले पहिले श्रीमती र त्यसपछि छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

आमा–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्