अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ



काठमाडौं । टोखा नगरपालिका-९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागूऔषध चरेस जस्तो देखिने पोल्यान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ घर भई काठमाडौं बल्खु बस्ने ४२ वर्षीय सानु कान्छा तामाङ र थाक्रे गाउँपालिका-२ घर भई हाल बल्खु बस्ने २३ वर्षीय दिल कुमारी तामाङ छन् ।

लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उक्त वस्तु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटी बिहारस्थित सडकबाट करिब १० केजी लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकाप घर भएका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी ढुङ्गेअड्‍डा बस्ने २७ वर्षीय सागर लामा छन् । विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा.२ ज ५७०९ नम्बरको ट्‍याक्सीमा सवार पौडेलले काखमा बोकेको कार्टुनभित्र उक्त गाँजा फेला पारी ट्‍याक्‍सीमा सवार लामालाई समेत पक्राउ गरेको हो ।

झापा, माङसेबुङ गाउँपालिका-६ घर भई दमक नगरपालिका-१ मामा चोक डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई ४ केजी २५ ग्राम लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरी राईलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ अदुवा पुलबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने मिसाइएको पदार्थ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय संदिप धिमाल, आकाश राई र आशिष राई रहेका छन् ।

उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने सूचनाको आधरामा लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्दा संदिपको साथमा उक्त लागूऔषध फेला पारी उनीहरु तीनै जनालाई पक्राउ गरेको हो ।

साथै झापा, मेचीनगर नगरपालिका-१३ स्थित ईलाम रोडबाट ८.५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१२ बस्ने २३ वर्षीय राजन श्रेष्ठ र सोही नगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले मे।४ प ७७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, पर्सा गाउँपालिका-५ चिरान मिलस्थित सुकनाहाबाट करिब २ सय २५ किलो लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्साबाट गस्तीमा गएको प्रहरीलाई देखेर पर्सातर्फ आउँदै गरेको ना.४ ख ७७४८ नम्बरको ट्रकका चालक ट्रक छाडी भागेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकमा कालो प्लाष्टिकमा बेरिएको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्