सिन्धुपाल्चोक पहिरोमा परेकाहरुको खोजी, राहत र उद्दारमा लाग्न प्रचण्डको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दे सिन्धपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिबार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्द अत्यन्त दुःख लागेको जनाएका छन् ।

उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ , भने बाँकी २४ जना अझै हराइरहेका छन् । पहिरोबाट १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । अध्यक्ष प्रचण्डले वेपत्ताको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्