सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १८ घर पुरिए, कयौँ बेपत्ता



काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले १८ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एउटा शव फेला परेको छ ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

नागपुजेका सबै ८ घरका मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । अहिले पनि घटनास्थलमा ठूलो पानी परिरहेकाले उद्धारमा कठिनाई भएको मेयर शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्