काठमाडौँको सडकमै नेपाली सेनाको जहाज गुडेपछि….



काठमाडौं- शनिबार साँझ नेपाली सेनाको विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको छ ।

नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि सडकमा यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले दंग मान्दै नियालेका थिए ।

सडकमा सवारी चाप कम भएको मौका पारेर साँझ त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमान गुडाएरै नारायणहिटीमा लगिएको छ।

विमान तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्‍याइएको हो ।

विमान सडकमा गुडाएर लैजाने क्रममा तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती परेको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्