विदेशबाट फर्किएका दुई हजार आठ सय नेपाली होटल क्वारेन्टाइनमा



काठमाडौं । दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टाइनमा बसेका छन् ।

होटल संघ नेपाल (हान) र होटल व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारसम्म एक हजार ८८० जना हानमा र ९५९ महासंघ अन्तर्गतको होटलमा गरी जम्मा दुई हजार ८३९ जना बसेका हुन् । केही दिन अघि ३१ वटा होटल क्वारेन्टाइनको लागि थप गरेको सूचना जारी गरेको थियो ।

विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सबै पूर्वाधार मिलाएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए । सरकारले जारी गरेका मापदण्ड पूरा गरी सहज रुपमा बस्ने व्यवस्था गरेको उनले जानकारी दिए । सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टाइनमा राखेको महासचिव शाक्य बताउँछन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्