हाकीमकै सेटिङमा चामल खरिद गर्न कर्मचारीकै सरुवा



खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।

कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका छन् ।

आफ्नो इसारामा काम नगर्ने कर्मचारीलाई कार्यालयबाट हटाएर आफ्नो इसारामा काम गर्ने कर्मचारी ल्याउन थालिएको छ । यस कार्यको चाँजोपाँजो कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले गर्ने गरेको कम्पनीका एक अधिकारीले बताए ।

कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि केही दिनअघि मात्रै शभु रेग्मीलाई सोलुखुम्बुको शाखा कार्यालयबाट लहानको मुख्य शाखा कार्यालयमा सरुवा गरेका छन् । लहानको मुख्य शाखा कार्यालयमा कार्यरत गंगाप्रसाद साहलाई जनकपुर कार्यालयमा सरुवा गरिएको छ ।

जनकपुरमा कम्पनीको आफ्नै मिल छ । त्यहाँ अहिले कुनै खरिद कारोबार नहुँदा शाहलाई जनकपुरमा पठाएर लहानमा चामल खरिद प्रक्रिया सुरु भएकाले कमिसन सेटिङका लागि रेग्मीलाई लहानको मुख्य शाखा कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ । लहानमा अहिले कम्पनीले ७ करोड २७ लाख १३ हजार रुपैयाँ लगानीमा १४ हजार ५ सय क्विन्टल चामल खरिद गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्