कार्यकारी अध्यक्ष दाहालको परीक्षा सुरु



काठमाडौं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अग्निपरीक्षा सुरु भएको छ ।

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो । अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ ।

पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारी रुपमा हुन नसक्दा बेला बेलामा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुँदै आएको छ । यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ । यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गतेको सहमति अनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन । तर अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन् ।

पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटी बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउनेगरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएका छन् ।

यसबाट दाहालको काँधमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने दायित्व थपिएको छ । ‘दाहालले बैठक सञ्चालन र निर्णय कार्यान्वयन गर्ने अधिकार पनि पाएपछि पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने जिम्मेवारी पनि उहाँकै हुनेछ’, स्थायी कमिटीमा ओली निकट मानिने एक सदस्यले भने । दुई अध्यक्षले तयार पारेको सहमतिको प्रस्ताव सुझावका लागि बुधबार स्थायी कमिटी सदस्यहरुलाई पठाइएको छ ।

सहमतिको प्रस्तावमा ओली र दाहालाको जिम्मेरी किटान गरिएको छ। प्रस्तावमाथि स्थायी कमिटी सदस्यलाई बिहीबार साँझ ५ बजेसम्म सुझाव पठाउन भनिएको थियो । केहीले सुझाव पठाए पनि केहीले बैठकमै बोल्ने भन्दै पठाएका छैनन् ।

अध्यक्षद्वयले बनाएको सो प्रस्तावप्रति वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको असन्तुष्टि कायमै रहेको छ । विधि र पार्टीभित्र पद्धतिको कुरा उठाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ कार्यकारी अध्यक्ष दाहालले कसरी अधिकार प्रयोग गर्छन् त्यसैअनुसार धारणा बनाउने मनस्थितिमा रहेको स्रोतले बतायो । नेपाल र श्रेष्ठ पार्टी सञ्चालन अधिकार पाएका दाहालले नेता र कार्यकर्तालाई जिम्मेवारी कसरी बाँडफाँट गर्छन् भन्ने विषयमा ‘पर्ख र हेरको नीति’ मा छन् ।

उनीहरुले शुक्रबारको बैठकमा पनि यसबारे धारणा राख्ने छन् । ‘उहाँहरुले बैठकमा आफ्ना धारणा राख्नुहुनेछ। अध्यक्षद्वयले प्रस्ताव गरेका धेरै विषयवस्तुमा असहमति रहे पनि कार्यान्वयन पक्ष हेरेपछि मात्रै प्रतिक्रिया दिने अरु विषय उठाइनेछ’, स्थायी कमिटीमा नेपाल निकट एक सदस्यले भने । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्