
काभ्रे । काठमाडौं उपत्यका छिर्ने पूर्वी नाका साँगाबाट सहज रूपमा सवारी साधन उपत्यका प्रवेश गर्ने गरेका छन् ।
दैनिक विभिन्न बहानामा दुई हजारभन्दा बढी सानाठूला सवारी उपत्यका छिर्ने गरेको पाइएको छ । त्यस्तै बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म टिप्परहरू बिनारोकटोक चल्ने गरेको स्थानीयवासीको गुनासो छ ।
धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा टिप्पर दिउँसै चलाउन दिइएको स्थानीय बताउँछन् । दैनिक नौ सयभन्दा बढी टिप्पर उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । दिउँसो सानाठूला सवारीहरू एक हजारभन्दा धेरै उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
दिउँसो कुनै पनि सवारी नाकाबाट फर्किनु नपरेको र टिप्पर आतंक भएर बाटो हिँड्नसमेत कठिनाइ भएको स्थानीय किरण केसीले बताए । दैनिक दुई हजारभन्दा धेरै सवारी उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
उपत्यकाका तीन जिल्लाका सीडीओहरूको अनुमतिमा टिप्पर बेलुका ९ बजेदेखि उपत्यका छिर्ने गरेको प्रहरी निरीक्षक तामाङले बताए । काभ्रेबाट बेलुकाको समयमा टिप्पर चल्ने भएकाले एम्बुलेन्ससमेत छिर्न कठिन देखिन्छ । एम्बुलेन्स चालकले भने टिप्पर चलेकै कारण बेलुका पनौतीबाट काठमाडौं पुग्नुपर्ने एम्बुलेन्सलाई दुई घण्टा लाग्ने गरेको बताएका छन् । (अन्नपूर्ण पोस्ट)





