
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजन ईन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गुप्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदित नारायणप्रशाद रौनियार, चन्देश्वर महतो, विबासप्रशाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता शाह रौनियार र सन्तोषकुमार गुप्ताविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगले १३ जना विरुद्ध १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ विगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।
पदीय हैसियतले उनले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १२ जनाको नाममा खाता खोलेर रकम जम्मा गरेको पाइएपति मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
२०३८/१२ गते ओभरसियर पदबाट सरकारी सेवा गरेका गुप्ता गतवर्ष असार ५ गते सिडिई पदबाट अवकाश पाएका थिए । अनुसन्धानको क्रममा सेवामा रहँदा उनले १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ आम्दानी गरे पनि वैधानिक भने एक करोड ११ लाख ६९ हजार नौ सय ६२ रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ ।





