८६ वर्षीया वृद्धामाथि बलात्कार



हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैको ध्यान आकृष्ट गरेका हुन्छन् ।

भारतको राजधानी दिल्लीमा यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । यी व्यक्ति हाल प्रहरीको नियन्त्रणमा छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बलात्कार गर्ने व्यक्ति उनी भएठाउँ पुगेका हुन् ।

स्वाति मालिवालले भनिन्, ‘ती व्यक्तिले महिलालाई सधैं दुध ल्याउने व्यक्ति आज नआउने त्यसैले उनलाई दुध पाउन सकिने स्थानमा पुर्याइदिने भनेपछि वृद्धाले उनलाई विश्वास गर्दै उनीसँगै गइन् । त्यसपछि ती व्यक्तिले नजिकैको खेतमा लगेर उनलाई बलात्कार गरे । उनी रोइरहिन् र आफूलाई छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् ।’

त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए ।

स्वाति मालिवाल मंगलबार पीडितको घर गइन् । त्यहाँ उनले जे देखिन् त्यो मन कुँडिने खालको थियो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालिवालले अभियुक्तका लागि मृत्युदण्डको माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्