गाउँपालिकाको कागजपत्र कीर्ते गर्नेलाई कारबाहीको माग, ७ बर्ष कैद हुनसक्ने



प्रेम पाण्डेय, सुर्खेत ।

कालिकोटको महावै गाउँपालिकाले कार्यालयका कागजपत्र कीर्ते गर्ने कृष्णकला शाही काफ्लेलाई कारबाही गर्न माग गरेको छ ।

गाउँपालिकाको छाप, लेटरप्याड र कार्यालय प्रमुखको हस्ताक्षर कीर्ते गरेको भन्दै गाउँपालिकाले कृष्णकलालाई आवश्यक कारबाही गर्न माग गरेको हो । महावै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिंहले मंगलबार जिल्ला प्रहरी कार्यालयलाई एक पत्र लेख्दै कीर्ते गर्ने कृष्णकलालाई आबश्यक कारबाही गरि पाउँ भन्दै पत्र लेखेका छन् ।

यो पत्र जिल्ला प्रहरी कार्यालयमा मंगलबार नै पठाइएको सिंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयलाई लेखिएको पत्रमा सोही गाउँपालिकाको वडा नम्बर २ निवासी कृष्णकला शाही काफ्लले अग्रिम बहुउदेश्यीय सहकारी संस्था नामक सहकारी संचालन गरि कार्यालय प्रमुखको हस्ताक्षर, छाप तथा लेटरप्याड कीर्ते गर्दै विभिन्न कार्यालयका विभिन्न योजनाबाट लाखौं रकम भुक्तानी लिएको उल्लेख छ ।

सहकारी संस्थाकी संचालक कृष्णकलाले कीर्ते हस्ताक्षर, छाप तथा लेटरप्याड प्रयोग गरि कृषि ज्ञान केन्द्र कालिकोटबाट २०७७ साउन ९ गते भुक्तानी माग पत्र पेश गर्दै १२ लाखभन्दा बढी रकम लिएको महावै गाउँपालिकाका कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

त्यस्तै बन तथा भु संरक्षण मन्त्रालय बनस्पति बिभाग थापाथलि काठमाडौंबाट २०७७ असार १० गते योजनाको रकम भुक्तानी गरिदिनु भन्ने अर्को कीर्ते पत्र पेश गर्दै लाखौं रकम भुक्तानी लिएको गाउँपालिकाले जनाएको छ । कृष्णकलाले कीर्ते कागजपत्र प्रयोग गर्दै जिल्ला तथा मुलुकका विभिन्न सरकारी कार्यालयका विभिन्न योजनाबाट लार्खौ रकम भुक्तानी लिएको गाउँपालिकाको दाबी छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को (३) उपदफा (१) बमोजिम सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई कडा कारबाहीको कानूनी व्यवस्था छ । जस अनुसार कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँ सम्म जरिबाना हुने व्यवस्था रहेको अधिबक्ता सतिसराज मैनालीले जानकारी दिए । उनका अनुसार कृष्णकलाले कीर्ते गरेको प्रमाणित भए वा अदालतले दोषी ठहर्याए ७ बर्षसम्म कैद र ७० हजार जरीवाना हुनेछ । साथै कसैले कीर्ते गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको छ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त विगो बमोजिमको थप जरिबाना समेत हुने व्यवस्था रहेको अधिवक्ता मैनालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्