“साथी म बन्दी छु”



फलामे ढोका पर्खालभित्र

साथी म बन्दी छु

न्यायको गीत गाउँदै हिँड्दा

साथी म बन्दी छु

विदेश हैन युवाको पौरख देशभित्रै पोख्न देऊ

प्यारीको साथमा पसिना धारा माटोमा रोप्न देऊ

दिदी र बैनी पराइको देशमा बेचिन नदेऊ

भनेर युवा आवाज गाउँदा साथी म बन्दी छु

ढुकुटीमाथि लामो हात गरे देश भो बर्बाद

माटोको माया गर्छु भन्नेलाई छैन क्यै पर्वाह

भ्रष्टका धन जफत गर राज्यको बनाऊ

भनेर देशको हितमा गाउँदा साथी म बन्दी छु

सिमाना हाम्रो खुम्चिँदै गयो मिच्दै छ छिमेकी

पराइको हेपाइ सहेर कति बस्ने हो नेपाली

माटोको खातिर जाग्नुपर्ने भो लड्नु नै पर्ने भो

भनेर देशको स्वाभिमान गाउँदा साथी म बन्दी छु

मान्छेले मान्छे ठगेर खाने चलन मेटाइदिऊँ

विभेदका पर्खाल ढालेर सबै समान बनाइदिऊँ

सुखले जिऊन् नेपालीजन शान्तिले बाँच्न देऊ

भनेर देशको समृद्धि गाउँदा साथी म बन्दी छु ।।

      -माइला लामा

प्रतिक्रिया दिनुहोस्