हिमाल आरोहणका लागि अनुमति प्रदान



काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को कारण पर्यटकीय गतिविधि ठप्प भइरहेकै समयमा पर्यटन विभागले बरुन्चे हिमाल आरोहणका लागि अनुमति प्रदान गरेको छ ।

७ हजार १२९ मिटर अग्लो सो हिमाल आरोहणका लागि विभागले ६ नेपालीको टोलीलाई अनुमति दिएको पर्यटन विभागले जानकारी दिएको छ । अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्ने भएका छन् । सरकारले शरद् ऋतुका लागि पर्यटकीय गतिविधि खुला गर्ने निर्णय गरेसँगै हिमाल आरोहणका लागि अनुमति दिन खुला गरेको विभागका निर्देशक मिरा आचार्यले जानकारी दिइन् । कोरोनापछिको पहिलो आरोहण बरुन्चे हिमालमै हुने विभागले जानकारी दिएको छ ।

यसैबीच सेप्टेम्बर १५ पछि बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफाको टोली लोत्से हिमाल आरोहणका लागि आउने भएको छ । बहराइनको सेनाको कमाण्डर समेत रहेका राजकुमार १५ बहराइनी र तीन बेलायतीसहित १८ जनाको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउने भएका हुन् । राजकुमार खालिफाको टोली करीब २ महीना नेपाल रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्ले रोयल गार्ड बहराइनको टिमलाई चार्टर्ड उडान गरी नेपाल आउन केही दिनअघि अनुमति दिने निर्णय गरेको थियो ।

बहराइनका राजकुमारको उक्त टोलीलाई विश्वका ८ हजार मिटर अग्ला सबै १४ ओटा हिमाल आराहण गरेका कीर्तिमानी आरोही मिङ्मा शेर्पाको कम्पनी सेभेन समिट ट्रेकर्सले आरोहण गराउनेछ । उनीहरूले ८ हजार १६३ मिटर अग्लो मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन् । जहाज चार्टर्ड गरेर भदौ ३१ मा आउने राजकुमारको टोली काठमाडौं आएर केही दिन बसेपछि पहिला लोबुचे र त्यसपछि मनास्लु हिमाल आरोहणमा जाने विभागले जानकारी दिएको छ ।

यो टोलीले पहिलो चरणमा यी हिमाल आरेहण गरी अर्को वर्ष सगरमाथा आरोहण गर्ने योजना छ । कोभिड–१९ को अवस्थामा पनि नेपाली हिमाल आरोहण गर्न भीआईपी टोली नेपाल आउन लाग्नु नेपालको पर्वतीय पर्यटन र समग्र पर्यटनका लागि सकारात्मक भएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । यो आरोहणले विश्वको ध्यान खिच्ने र कोरोनाले थलिएको पर्यटनमा केही हदसम्म भए पनि राहत मिल्ने उनले बताए ।

नेपाल आउन चाहने अल्पाइन क्लबका सदस्यहरूले नेपाल आउन यसअघि गरेको होटल बुकिङ समेत रद्द नगरेको भन्दै होटल संघ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य र सुरक्षालाई ध्यान दिँदै हिमाल आरोहण तथा ट्रेकिङ गर्न आउन चाहनेहरूलाई अनुमति दिनुपर्ने बताए । तर, पर्यटक आगमनका लागि के कसरी जाने भनेर स्पष्ट प्रोटोकल आवश्यक भएको उनको भनाइ छ । (आर्थिक अभियान)

प्रतिक्रिया दिनुहोस्