
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन् ।
भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो ।
दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन् । नेपाल भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ । यद्यपि ती बैठकको मिति तय भइसकेको छैन । दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ । ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने । यसअघि भदौ १ मा नेपाल(भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म) को बैठक बसेको थियो ।
बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो । भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए ।
निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। ‘नेपाल भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ । केही बैठक भइसकेका छन्’, भारतीय दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘दुई प्रधानमन्त्रीबीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिरहेको छ ।’ दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताए ।
नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको थियो । त्यसपछि दुई देशबीच औपचारिक संवाद भएको थिएन । सामान्य कूटनीतिक सम्बन्धबाहेक राजनीतिक स्तरमा छलफल ठप्प थियो । प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ । परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन् ।
त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल भारत संयुक्त आयोगको बैठक हुनेछ । यहीबीच भारतीय राजदूत विनयमोहन क्वात्रा नयाँ दिल्ली पुगी नेपालको पछिल्लो राजनीतिक अवस्था र केही महिनायता सम्बन्धमा देखिएका समस्याबारे ब्रिफिङ गरेर फर्किएका छन् ।
दिल्लीमा रहँदा राजदूत क्वात्राले सचिवस्तरीय वार्ता, बाउन्ड्री वर्किङ ग्रुपलगायत अन्य संयन्त्रको बैठक गर्नेबारे त्यहाँका परराष्ट्रका अधिकारीहरूसँग छलफल गरेको स्रोतले बताएको छ । भारत जानुअघि राजदूत क्वात्राले प्रधानमन्त्री केपी ओलीसँग अनौपचारिक छलफल गरेका थिए । प्रधानमन्त्री ओलीको सन्देश लिएर उनी गएका थिए । (अन्नपूर्ण पोस्ट)





