गुणस्तरीय शिक्षाको लागि अब बालउद्धार



नेपाल सरकारद्धारा नमूना विद्यालयमा छनौट भएको बूढानीलकण्ठ १० स्थित बाल उद्धार माध्यामिक विद्यालय अब गुणस्तरीय शिक्षाको केन्द्र बन्ने उद्घोष पत्रकार सम्मेलन मार्फत विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले बताएका छन् ।

करिब १ बर्षदेखि रिक्त रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  समाजसेवी ध्रुव प्रसाद घिमिरे चयन भएपछि उहाँसहित सिंगो व्यवस्थापन समितिले भौतिक पूर्वाधार र राजनीतिक आधारमा नियुक्ति भएका ३ सहायक प्रधानाध्यापक हटाएपछि आफूलाई काम गर्न सजिलो भएको अनुभव सुनाउँदै पत्रकारमाझ पण्डितले आफ्नो अनुभव सुनाए । दक्ष र तालिम प्राप्त शिक्षकहरु, पर्याप्त भौतिक पूर्वाधार भएर पनि चुस्त व्यवस्थापन र प्रधानाध्यापकलाई पुरस्कृत र दण्ड गर्ने अधिकार नभएकाले गुणस्तरीयता कायम हुन नसकेको पण्डितले बताए ।

प्रधानाध्यापक पण्डितले अघिल्लो विद्यालय व्यवस्थापन समितिले निकै सहयोग गरेको भएपनि आफ्नो गतिमा हिड्न सक्ने नयाँ व्यवस्थापन समितिपछि बाल उद्धारमा अब गुणस्तरीय शिक्षा प्रदान गरिने दाबी गरे ।

२६ दिन भित्र नयाँ व्यवस्थापन समितिले गरेका नीतिगत निर्णय र भौतिक पूर्वाधारमा भएका प्रगतिले विद्यालय नयाँ गतिमा अगाडी जाने पण्डितको दाबी थियो । विद्यालय व्यवस्थापन समितिले भौतिक पूर्वाधार र आर्थिक स्रोत व्यवस्थापनमा जिम्मेवारी लिई राम्रो गर्ने शिक्षकलाई थप काम सहित पुरस्कृत गर्ने र विद्यार्थीलाई नपढाउने शिक्षकहरुलाई दण्ड गर्ने पूर्ण अधिकार भएकाले मेरो नेतृत्वमा सिंगो शिक्षकहरुको तर्फबाट गुणस्तरीय शिक्षाको लागि हदैसम्मको मेहेनत गर्ने पण्डितले जानकारी गराए ।

विद्यालयद्धारा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद घिमिरे, नि.वर्तमान सहायक प्रधानाध्यापक राजन रेग्मीले आफ्नो धारणा राखेका थिए भने पत्रकारले सोधेका जिज्ञासामा अध्यक्ष घिमिरे र प्रधानाध्यापक पण्डितले पालैपालो जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्