मन्त्रिपरिषद बैठक बस्दै: खतिवडा आउट, गौतम ईन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।

शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् । उता, राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन् । तर गौतमको हकमा संसदको यो कार्यकालमा मन्त्री बन्न संविधान बाधक देखिने भएको छ । आजैको मनित्रपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्टपतिलाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्