एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव



पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ । घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ ।

प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् ।

बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे विस्तृत जानकारीसमेत उपलब्ध छैन । स्थानीय समयानुसार दिउँसो आपतकालीन सेवालाई सूचित गरियो ।

यो अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा अवस्थित छ ।

प्रहरीका अनुसार उनीहरुलाई स्थानीय समयानुसार करिब दुई बजे एउटा फोन आएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ पाँच बालबालिकाका शव भेटेका हुन् ।

तीन छोरी र दुई छोरा रहेका बालबालिकाको उमेर एक वर्षदेखि आठ वर्षबीच थियो ।

११ वर्षका छैटौं छोरा बच्न सफल भएको बताइएको छ ।

बालबालिकाकी हजुरआमा घटनास्थलभन्दा करिब ६० किलोमिटर टाढा बस्छिन् ।

जर्मन न्यूज वेबसाइट बिल्डको रिपोर्ट अनुसार उनले नै आपतकालीन सेवालाई अलर्ट फोन गरेकी थिइन् ।

प्रहरी प्रवक्ता स्टिफनले आफ्नै ज्यान लिने कोसिसमा बालबालिकाकी आमा गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ताले पत्रकारसँगको कुराकानीमा प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रहरीले बालबालिकाकी आमासँग यो दुखद घटनाबारे कुरा गरिसकेपछि मात्रै यसको कारणबारे पत्ता लगाउन सकिने बताएको छ ।

हालका लागि यो ब्लकको सबै फ्ल्याट सिल गरिएको छ । घटनास्थलमा प्रहरीको गाडी, एम्बुलेन्स र फोरेन्सिक टिम पनि उपस्थित छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्