मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा कस्ले मार्ला बाजी ?



सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका मध्ये ६ जनाको अन्तिम नीयमावली आएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रार पदका लागि आवेदन खुलेपछि १९ जनाले दर्खास्त दिएका थिए । १९ जनामा ६ चुनिएका छन् र अधिकांस स्थानीय छन् ।

स्रोतका अनुसार अनन्तराज घिमिरे,नारायण पौडेल,बुद्धि सापकोटा,दिप बहादुर रावल,केशरसिंह राणा र एकराज ओझा रहेका छन् । यद्यपि नाम बाहिर खुलाइएको छैन । उपकुलपतिले रजिस्ट्रार छनोटका लागि उच्चस्तरीय समिति बनाएका थिए । ३ जना रहेको समितिमा काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति मदन भण्डारी, बिज्ञान तथा प्रविधि विश्वविद्यालय र लोकसेवा आयोग बाट गरेर एक एक जना छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय असार २९ गते देखि रजिष्ट्रारविहीन बनेको थियो । तत्कालीन रजिष्ट्रार डा। महेन्द्रकुमार मल्ल र निमित्त रजिष्ट्रारको भूमिकामा रहेका शिक्षाशास्त्र संकायका डीन यामबहादुर कार्की आ–आफ्नो काजअवधि सकेर त्रिभुवन विश्वविद्यालयमा हाजिर भइसकेका छन् । उनीहरु दुबैजना काजमा एमयूमा आएका थिए ।

उपकुलपति प्रा।डा नन्द बहादुर सिंहले एक हप्तामा नयाँ रजिस्ट्रार नियुक्ति गर्ने भनेपनी करिब डेढ महिना बितिसकेको छ । रजिस्ट्रार छनोट प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । उपकुलपति सिंहले विशेषगरी ‘अर्थशास्त्र’ बुझेको व्यक्तिलाई रजिष्ट्रारको रुपमा छान्ने घोषणा समेत गरिसकेका छन् । प्रशासनिक रुपमा अनुभव र उत्कृष्ट भिजनलाई उनले छनोटको दोस्रो महत्वपूर्ण आधार बनाएका छन् ।

उपकुलपतिले एकजनालाई कुलपति तथा प्रधानमन्त्री समक्ष रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्ने ब्यबस्था छ । राजनैतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने परम्परालाई तोडेर मेरिटोक्र्यासीलाई लागु गर्ने परम्परा बसाल्न लागिपरेका उपकुलपति सिंहलाई रजिस्ट्रार नियुक्तिको सवालमा ठुलै राजनैतिक दबाबहरु नआएका भने होइनन् । उनले नेताहरूलाई प्रतिस्पर्धा गरेर आउने बाटो खुल्ला रहेको जवाफ दिएका थिए ।

-प्रेम पाण्डेय

प्रतिक्रिया दिनुहोस्