एकबर्षमै उप्कियो फोरलेनको कालोपत्रे, पुलको काम अधुरो



खगेन्द्र हमाल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत बिरेन्द्रनगरमा फोरलेनको सडक निर्माण भएको एकबर्ष नबित्दै उप्किन थालेको छ । धुलाईबिटदेखी बाङ्गेसिमलसम्मको यो सडक पुर्णरुपमा संचालनमा नआउदै कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेका कारण सवारीसाधन आवतजावत गर्नलाई अप्ठ्यारो भएकोले दुर्घटनाको जोखिम रहेकोे छ ।

हस्तान्तरण भएको केही महिनाभित्र सडकमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्न शुरुभएपछी सडक निर्माणमा गुणस्तरहिनको प्रश्न खडा भएको छ । दोस्रोचरणमा निर्माण भएको पुरानो संचयकोषदेखी सिद्धार्थ होटल नजिकसम्मको सडक एक बर्षअघि मात्रै निर्माण सम्पन्न भएको थियो । तर बैकल्पिक निकास बिना नै सडक निर्माण गरिएको भन्दै बिगत लामो समयदेखि स्थानीयबासिहरुले बिबाद गर्दै आएका थिए ।

फोरलेनको सडकमध्य मंगलगढी चोकदेखी बुलबुलेचोक लगायतका विभिन्न सडक खण्डहरुमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्न थालेको छ । करिब १५ करोडको लागतमा बनेको यो सडक भत्किएपछि सर्वसाधारणले गुणस्तरमाथी प्रश्न उठाएका छन । उक्त कालोपत्रे उप्किएको क्षेत्रको सडक निर्माण कम्पनी स्वच्छन्दरश्याम एण्ड शंकर जेभिले झन्डै १५ करोड ४० लाख ४१ हजार पाँच सय ९१ रुपैयाँ ४० पैसामा निर्माण गरेको थियो ।

एकबर्ष अघि नै निर्माण सम्पन्न भएपनी हस्तान्तरण हुन झन्डै एक बर्ष लागेको थियो । सडक हस्तान्तरण भएको डेढ महिनामै कालोपत्रे उप्किन शुरु गरेपछि निर्माण कार्यमा गुणस्तरहिन भएको पुष्टि भएको छ । सडकमा कालोपत्रे उप्किएपछी मर्मत तथा सुधार गर्न सडक डिभिजन कार्यलय सुर्खेतले निर्माण कम्पनिलाई ताकेता गरेको छ ।

फोरलेन सडकको काम सम्पन्न भएको एक बर्ष पूरा हुँदा सम्मेत यहि फोरलेन सडकमा निर्माण गर्नुपर्ने पाँचवटा पुलहरु भने हालसम्म बन्न सकेका छैनन ।सडक डिभिजन कार्यलयका सुचना अधिकारी देवेन्द्र भट्टराईका अनुसार सबै पुलहरु २०७७ साल माघ ११ गते भित्र निर्माण गरिसक्नुपर्ने बताए ।

पक्की पुल निर्माणका लागि सडक बिभागले सपना आशिष् श्याम एण्ड शंकर जेभी कम्पनीलाई भ्याट बाहेक ३३ करोड १९ लाख ७७ हजार ६ सय १७ रुपैयाँ ३३ पैसामा ठेक्का दिएको छ । फोरलेन सडक अन्तर्गत पर्ने गाग्रेताल खोला,नेवारे खोला,ईत्राम खोला,खोर्के खोला,र ढोढेखाली खोलामा पक्की पुल बनिरहेका छन ।

जसमध्ये तिनवटा पुलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।ईत्रामखोला र खोर्केखोला पुल भने बर्षादको मौसम अनुकुल बाताबरण भएपछि र लकडाउन पुर्न खुकुलो भएपछि निर्माण सम्पन्न हुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्