झापामा सशस्त्र प्रहरीकोे गोलिबाट मृत्यु भएका आलमको शव परिवारले बुझेनन्



झापा । झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएक रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ ।

बुधबार राति झापा गाउँपालिका वडा नं कामाटेलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणम लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर सोही ठाउँमा ३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुधबार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आलमको मृत्यु भएसँगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने , गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने, धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका ११ सूत्रीय माग राखेका हुन् ।

यसैबीच मृतक परिवारका मागका विषयमा कामाटोलीमा छलफल शुरु भएको छ । छलफलमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि, मृतक परिवार, मुस्लिम समुदायका अगुवालगायतको सहभागिता छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाएका थिए । तर, मृतक परिवारले घटनास्थलमै छलफल हुनु पर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

मुस्लिम समुदायले झापा गाउँपालिका-३ कामाटोली बजारमा अमरपथ सडक अवरुद्ध गरेका हुन् । ११ बुँदे माग राख्दै वार्तामा बसेका मुस्लिम समुदायले प्रमुख जिल्ला अधिकारी वार्तामा बस्नु पर्ने माग राख्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्