“मुख्यमन्त्रीको विकल्प यामलाल कंडेल होईनन, नयाँ पुस्ता हुनु पर्छ” : सह-संयोजक ढकाल



खगेन्द्र हमाल ,सुर्खेत

नेकपा निकटको विद्यार्थी संगठनका युवा नेता तथा कर्णाली प्रदेश सुर्खेतका अनेरास्ववियुका सह-संयोजक जगत ढकालले कर्णाली सरकार परिवर्तन गर्ने हावादारी तर्कले पार्टीका नेता कार्यकर्ताहरुमा एउटा छुट्टै किसमको तरंग पैदा गरेको र यस्ता हावादारी तर्कले आफ्नै राजनीतिक स्तर खस्किने भएकोले यस्ता हावादारी तर्क नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन।मुख्यमन्त्री को बन्ने कसलाई बनाउने र फेरबदल गर्ने कुरामा पार्टीको आधिकारिक निर्णय नभएसम्म हचुवाको भरमा यस्ता तर्कहरु गरेर पार्टी र जनताको विश्वास माथी ठुलो धोका हुने र आफ्नो राजनीतिक स्तरता माथि पनि प्रश्न उठ्ने भएकोले यस्ता कुतर्क नगर्न समेत सुझाव दिएका छन।सामाजिक संजाल फेसबुक मार्फत एक स्टार्टस लेख्दै युवा नेता ढकालले नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका सह-ईन्चार्ज तथा नेकपाका एक बरिस्ठ नेता यामलाल कंडेललाई चुनाव जितेपछि पुन निर्वाचन क्षेत्रका मतदाताहरुसङ्ग भेटघाट गुनासो सुन्न पुन फर्केर नगएको आरोप लगाएका थिए।सह-संयोजक ढकालउसंगै प्रत्यक्ष भेटेर यस बारेमा गरिएको अन्तरबार्ताको पूरा अंश जस्ताको त्यस्तै पाठकसामु प्रस्तुत गरेका छौ।

प्रश्न-,ढकाल जि यतिबेला कर्णाली प्रदेशको सरकार परिवर्तनको व्यापक चर्चा परिचर्चा चलिरहेको छ,जनताको जनआपेक्षाअनुसार मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले काम गर्न सकेन भन्ने आरोप तपाईकै पार्टीका नेता कार्यकर्ताहरुले लगाउनुभएको छ यसलाई तपाईंले कसरी हेर्नुभएको छ?

सह-सयोजक ढकाल-माननीय कमरेड महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारले जनभावना अनुसार जुन स्पिडमा काम गर्नुपर्ने हो त्यो स्पिडमा काम गर्न सकेको छैन यो बारेमा पार्टीले गम्भीर समिक्षा गर्नुपर्छ,तर बाहिर केही पनि काम गरेन यो सरकारले भन्ने जुन भ्रम जनतामाझ छरिएको छ त्यो चाहिँ सरासर गलत हो।जनताले सोचेजस्तो काम गर्न नसकेपनी केही महत्त्वपूर्ण आधार स्तम्भहरु भने यो सरकारले खडा गरेको छ। प्रदेश सरकारले केही पनि काम गरेन भन्ने स्थिति अहिले नै आएको छैन।अर्को कुरा सरकार परिवर्तनको सवालमा कसैलाई यो सरकार मन परेको छ कसैलाई मन परेको छैन,सरकार प्रति कुनैपनी ब्यक्तिका आलोचना टिक्का टिप्पणी हुनु कुनै ठुलो बिषय होइन।कुनै एक ब्यक्तिले निर्णय गर्नुभन्दा पनि आवश्यकता अनुसार पार्टीले यो बारेमा गम्भीर ध्यानाकर्षण गर्नुपर्छ।आलोचना प्रतिआलोचना हुनु स्वभाविक हो यसलाई अन्यथा सोच्नु हुँदैन।

प्रश्न-मुख्यमन्त्री परिवर्तन हुने कतिको संभावना देख्नु भएको छ?

सह-संयोजक ढकाल-मुख्यमन्त्रीलाई कसैले मन्दिरमा भेटी चढाएर टीका लगाएर बनाएको होईन।जनताबाट जननिर्वाचित साँसद त्यो पनि पार्टीको निर्णय अनुसार उहाँ मुख्यमन्त्री हुनुभएको हो।मुख्यमन्त्री हटाउने,नयाँ न्युक्ती गर्ने सन्दर्भमा पार्टीले निर्णय गर्लानी दुईचार जनाले विरोध आलोचना गर्दैमा मुख्यमन्त्री हट्ने कुरा हुँदैन।मुख्यमन्त्री हटाउनु नै समस्याको समाधान होईन,बरु समस्या कहानिर छ त्यसको बैकल्पिक खोजी गर्नु आजको आवस्यकता हो।सरकार ब्यक्तिले भन्दा पनि पार्टीको सल्लाह सुझाव अनुसार चल्ने होलानी।

प्रश्न-मुख्यमन्त्री ज्युको कार्यक्षमता माथि प्रश्न उठ्दै गर्दा तपाईकै पार्टीका माननीय साँसद यामलाल कंडेलजिले केही दिन पहिले एक अन्तरबार्तामा मुख्यमन्त्री नेतृत्वको सरकारले काम गर्न सकेन आफैले बाटो खुलाई दिनुपर्ने हो केले रोकेको छ भन्नुभएको थियोे,यसले एउटा के संकेत दिन्छ भने अब यामलाल कंडेल मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै देखियो,निर्वाचित साँसदहरुको कुरा गर्ने हो भनेपनी उहाँलाई समर्थन गर्ने माननीयहरुको संख्या बहुमत नै देखिन्छ।यदि साँसदहरुको यामलाल कंडेलजिलाई मुख्यमन्त्रीको लागि समर्थन भयो भने उहाँ मुख्यमन्त्री बन्ने संभावना कतिको छ?

सह-संयोजक ढकाल-लोकतन्त्रमा आलोचना टिक्काटिप्पणी गर्न पाईन्छ।त्यसैका लागि त यो व्यवस्था ल्याईएको हो।माननीय कमरेड यामलाल कंडेलजिले आफ्नो बोल्ने स्वतन्त्र अभिव्यक्ति अधिकारलाई प्रयोग गर्नुभएको हो।सरकार कति सफल कति असफल पार्टीले समिक्षा गर्ला,कुनै ब्यक्ति र गुटले समर्थन गर्दैमा मुख्यमन्त्रीले राजीनामा दिनुहुँदैन।यहाँ कसैको बहुमत र अल्पमत हुदैमा बहुमतका आधारमा मनलाग्दी गर्न मिल्ने र अल्पमतका आधारमा कसैले कसैका लागी बाटो खुल्ला गरिदिएर राजिनामा दिनुपर्ने भन्ने हुँदैन।पार्टी सिस्टममा सरकारका कमिकम्जोरिलाई पार्टीले आन्तरिक छलफल गरेर निचोड निकाल्नुपर्छ।मुख्यमन्त्रीले राजिनामा देलान र आफू नेतृत्वमा जाउला भन्ने जुन होडबाजी अहिले माननीय यामलाल कंडेलजिले गर्नुभएको छ त्यो सरासर गलत हो।यसले उहाँको राजनीतिक उचाईलाई धेरै प्रभाव पार्छ।राजनीतिमा पाउनु मात्रै सबैथोक होईन गुमाउनुलाई पनि राजनीति भनिन्छ।पदकै लागि अहिले नै कसैले हतार गर्नुपर्ने आवस्यकता छैन।र यदि कसैले त्यो मानसिकता बोकेको छ भने त्यस्ता सोच बिचारहरु आफै धरासाय हुन्छन।अहिले नै माननीय कंडेल जि मुख्यमन्त्री बन्ने कुनै संभावना छैन।

प्रश्न–केहिदिन पहिले तपाईंले यामलाल कंडेलजिलाई निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा फर्केर जानुभएको छैन भन्ने आरोप लगाउनुभएको थियोे,यसमा कति सत्यता छ प्रष्ट पारिदिनुहोस?

सह-संयोजक ढकाल-माननीय यामलाल कंडेलजि हाम्रो महान गौरवशाली नेपाल कम्युनिस्ट पार्टीको एक वरिष्ठ नेता हुनुहुन्छ।कर्णाली प्रदेशको सह-ईन्चार्ज हुनुहुन्छ।उहाँले अरुको आलोचना गर्दैगर्दा,अरुले केही गरेनन भन्दै गर्दा उहाँले विभिन्न पटकपटक राजनीतिक नेतृत्व र मन्त्री हुँदा के के सकारात्मक कार्यहरु गर्नुभयो त?निर्वाचन भएको अढाई बर्ष पूरा भैसकेको छ अहिलेसम्म उहाँ आफ्नो निर्वाचन क्षेत्रमा पुन फर्केर जानुभएको छैन।यो मैले मात्रै भनेको होईन उहाँकै क्षेत्रका मतदाताहरुले गरेको गुनासो हो।उहाँ सुर्खेत क्षेत्र न. 2 प्रदेश सभा(क) बाट प्रत्यक्ष निर्बाचित भएपनी उहाँकै निर्बाचन क्षेत्र क्षेत्र न.२ मा पर्ने गिरिघाट पार्टी एकता भएपश्चात पार गर्नु भएको छैन त्यहाँका जनता सामु पुग्नु भएको छैन। तातापानी,भुरेली,फलाटे,कोलडाडा अवलचिङ्ग,मटेला,रानिनास,काफलकोट,पाम्का,र घाटगाउमा त उहाँले पाइला नै टेक्नु भएको छैन।अहिले मात्रै होईन चुनाव जितेपछि पुन फर्केर जनतामाझ नजाने कमरेड यामलाल जिको पुरानै शैली हो भन्न मात्रै खोजेको हो।यस्ता शैलिहरुलाई सच्याउनु पर्छ।मुख्यमन्त्री शाहिको विकल्प यामलाल कंडेल होईनन यदि विकल्प नै खोज्ने हो भने नेतृत्व नयाँ पुस्तामा जानुपर्छ ।जनता नै जनार्दन हुन नेताहरुको भाग्य फैसला आगामी चुनावमा यिनै जनताले देखाईदिन्छन।

प्रश्न-पछिल्लोपटक मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले मन्त्रीहरूसंग कार्य सम्पादनका लागि करार सम्झौता गर्नुभएको छ,के उहाको यो निर्णयले मन्त्रीहरूले प्रदेश सरकारलाई परिणाममुखी रिजल्ट दिन सक्लान्?

सह-संयोजक ढकाल-यो निर्णय एकदमै राम्रो हो।पहिलो आर्थिक बर्षबाट नै यस्तो निर्णय गरेको भए अहिलेसम्म मन्त्रीहरुले पनि आफ्नो कार्यसम्पादनमा विशेष जोड दिनुहुने थियो।सबै कर्मचारी अलि सजक हुनेथिए।अहिले अलि ढिला भैसकेको छ,समय हामिसङ्ग छोटो छ काम धेरै गर्नुछ।यो सम्झौता अनुसार मन्त्री सचिवले राम्रो परिणाम दिन सकेभने त राम्रो कुरा हो।यद्यपि यो परिणाममुखी भएन भने त बचेको त्यही समय पनि सकिन्छ र निर्वाचनमा जनतामाझ गरिएका बाचाहरु कार्यनयन गर्न सकिएन भने आगामी निर्वाचनमा पुन चुनाव जित्नका लागि जनतामाझ कुन अनुहार लिएर जाने आजको प्रमुख प्रश्न यो हो।

प्रश्न-मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वमा गठीत मन्त्रीहरुले बचेको समयलाई सदुपयोग गर्दै परिणाममुखी काम गरेर आगामी निर्वाचनमा जनतामाझ जाने त्यस्तो किसमको वातावरण बनाउन सक्लान्?

सह-संयोजक ढकाल-अहिलेसम्म भएका कमिकम्जोरीबाट नै पाठ सिकेर बाकी रहेकोे समय जुन छ काम गर्नु बाहेक बिकल्प छैन।सरकार सफल असफल हुनुमा मन्त्रीकै ठुलो हात रहन्छ।यदि मन्त्रीले राम्रो काम गरिदिएमा सरकार आलोचित हुँदै हुँदैन।अब पनि उहाँहरुले कर्णाली बासिको मन जित्न सक्नुभएन भने राजनीति यसैपटकको लागि मात्रै होईन होला नि।उहाहरु आफै वर्गसंघर्ष बाट नै लामो त्याग तपस्या आरोह अबरोध झेल्दै यहासम्मा आउनुभएको हो।कर्णालीबासिको समस्या बुझ्नु समस्याको निकास खोज्नु उहाँहरुको दायित्व हो।जनताले तिरेको करबाट सेवा सुविधा लिएर यदि जनताको हकहित र कर्णालीको बिकास गर्न सक्नु भएना भने फेरि पनि चुनावमा जाने होलानी,जनतासंग भोट माग्नुपर्ने होलानी त्यो बेला जनताले दण्डित गर्छन यो भन्दा ठुलो सझाए अरु के हुन सक्छ र।नेपाली जनता अब यति सचेत भैसकेका छन कि यस्तो सुनौलो अवसर गुमाएमा फेरि फेरि जनताले साथ दिनेवाला छैनन।त्यसैले जनताको जनमतको कदर गर्दै कर्णालीको बिकास गर्नुको विकल्प छैन।

अन्तिममा केही भन्नुछ?….

सह-संयोजक ढकाल-पदप्राप्तिका लागि राजनीतिक गुटबन्दी गरि सरकारलाई धरापमा पार्नुभन्दा सरकारलाई सकारात्मक सुझाव दिएर महत्त्वपूर्ण पदिय जिम्मेवारी बहन गर्नु आजको आवस्यकता हो।सरकारले गरेका कमिकम्जोरिहरुको सधै आलोचना मात्रै गर्नुभन्दा पनि सरकारलाई सहि सल्लाह सुझाव दिन सकियो भने त्यसले पक्कैपनी सकारात्मक परिणाम ल्याउछ।आफ्ना निर्वाचन क्षेत्रमामा मतदाताहरुका के कस्ता गुनासाहरु छन त्यसलाई सम्बोधन गर्ने,बिकासका कामहरुलाई तिब्र रुपमा अगाडि बढाउने,बाढी पीडित तथा सुकुम्बासीहरुको समस्यालाई तत्काल हल गर्ने,दलाल बिचौलिया भ्रष्टाचारिहरुलाई कारबाही गर्ने,बिकासका नाममा भएका अनियमितताको खोजी गर्ने, जस्ता कार्यहरु गरे मात्रै हामी जित्छौ कर्णालीबासिले जित्छन समग्र कर्णालीको मुहार फेरिन्छ।पद प्राप्तिकै लागि एकले अर्कोलाई ईगो राखेर राजनीतिक लडाइँ गरिरहेमा आगामी निर्वाचनमा पार्टीले नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ।त्यसैले शिर्ष नेताहरु मिलेर कसरी हुन्छ काम गर्नुको बिकल्प छैन।

प्रतिक्रिया दिनुहोस्