काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण वृद्धि भएसँगै उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी भएको अवस्था छ । चार महिना लामो लकडाउनबाट उठ्न नपाउँदै पुनः निषेधाज्ञाको सामना गर्नुपरेको छ ।
महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले सबैलाई सजग रहन अपिल गरेका छन् ।”पर्याप्त स्वास्थ्य सजगता अपनाउन नसक्दा उपत्यकामा मात्रै दिनहुँ सयौंको संख्यामा सङ्क्रमण वृद्धि हुँदै आएको छ, । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले विगतदेखि पर्याप्त प्रयासहरु गर्दै आएको भए पनि सङ्क्रमण दरमा कमी हुन सकेको छैन, तथापि केही सातापछि नै कोरोना भाइरस सङ्क्रमण कमी हुने अपेक्षा गरिएको छ “।
श्रेष्ठले भने, ‘विश्वव्यापी महामारीको कठिन परिस्थितिमा पनि फ्रन्टलाइनमा बसेर काम गरिरहनुभएका स्वास्थ्यकर्मीको योगदान बिर्सन सकिँदैन’ , आफ्नो ज्यानको पनि ख्याल नगरी दिनरात खटिएका स्वास्थ्यकर्मी बसेको होस्टल, डेरा र निजी घरलाई लक्षित गरेर अवरोध र अपहेलनाका घटना सार्वजनिक भइरहेका छन्’ । महामारीसँग सङ्घर्ष गरिरहनुभएका स्वास्थ्यकर्मीविरुद्ध भएका अवरोध र मनोबल गिराउने कार्य सदा सर्वथा गलत र निन्दनीय छ । अतः त्यस्तो कार्य नगर्नुहुन म नगरबासी लगायत सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।
हामी, हाम्रो परिवार र सिङ्गो समुदाय नै सङ्क्रमणको जोखिममा रहेकोले हालको अवस्थामा हामी प्रार्थना गर्दछौं कोही कसैलाई त्यस्तो सङ्क्रमण नहोस् तर भइहालेको अवस्थामा उपचार गर्ने तिनै स्वास्थ्यकर्मी हुन् भन्ने सबैले राख्नुपर्ने उनले बताए ।
“स्वास्थ्यकर्मीसँगै जनधनको रक्षा गर्न दिनरात फिल्डमा खटिनुभएका सुरक्षाकर्मीहरुका साथै सूचना सम्प्रेषणमा खटिनुभएका सञ्चारकर्मीको मनोबल उच्च बनाउन र उहाँहरुलाई सहयोग गर्न अनुरोध गर्दछु” , उनले भने ।
सङ्क्रमणको अवस्थाबाट गुज्रनुभएका बिरामी र उहाँका परिवारजनलाई अपहेलना गर्ने, सामाजिक बहिष्कार गर्नेजस्ता कार्य नगर्नुहुन साथै उहाँहरुको मनोबल उच्च बनाउन आवश्यक सहयोग र सम्मान गर्नुहुन सबैलाई अनुरोध गर्दछु । सबै नागरिकको सामूहिक प्रयास, समन्वय, सहकार्य, आपसी प्रेम र सद्भावबाट मात्र महामारी रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ त्यसैले यस्तो बेलाम कोहि कसैले कोहि कसैलाई हेला गर्न नहुने बताएका छन् ।