उपत्यकामा निषेधाज्ञा लम्बिने आज तीनवटै जिल्लाको संयुक्त बैठक बसेर निर्णय गर्दै



कोभिड १९ अर्थात कोरोना भाईरस संक्रमितको संख्या बढदै गएपछि उपत्यकामा निषेधाज्ञा लम्ब्याउने विषयमा मंगलबार अपरान्ह तीनवटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठक बस्दै छ।

गत भदौ ३ गते मध्यरातदेखि एक साताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो। अहिले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नसमेत निषेध गरिएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा तीनवटै जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहने छ। स्रोतका अनुसार कोरोना संक्रमणको स्थिति उस्तै रहेकाले निषेधाज्ञा लम्ब्याउने सम्भावना छ।

सरकारले गत साउन ६ गते मध्यरातदेखि देशव्यापी लकडाउन अन्त्य भएको घोषणा गरेपनि पछिल्लो समय देशभरका ५० भन्दा बढी जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागु गरिएको छ।

तीनवटै जिल्लाका सुरक्षा समितिले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को प्रयोग गर्दै निषेधाज्ञा गरेका हुन्। यसअघि सोमबार काठमाडौँ उपत्यकाका मेयरहरुको फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्