
जनकपुर । रौतहटमा एक जना पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति माधवनारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
राति करिब सवा ९ बजे खाना खाइरहेको बेला पुजारी साहलाई एक व्यक्तिको गोली हानेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडा इन्चार्ज डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
अहिलेसम्म् हत्याको कारण पत्ता नलागेको बताउँदै डिएसपी महतोले बिहीबार बिहानै अपराध अनुसन्धानमा सघाउने कुकुर सहित विशेषज्ञ टोली बोलाइएको जनाए ।
हत्यारालाई त जसरी पनि पक्राउ गरिन्छ महतोले भने घटनाबारे जानकारी प्राप्त भएदेखि हाम्रो टोली निरन्तर सक्रिय छ । एउटा हत्या घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन नपाउँदै अर्को हत्या घटनाले जिल्लाको सुरक्षा अवस्थामा चुनौति थपिएको छ ।





