अन्ततः दर्ता भयो नेकपा (एमाले)



काठमाडौं । अन्ततः निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको छ ।

सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।

नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको इशारामा भएको दावी गरेका थिए । त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भयो र स्थायी कमिटीको बैठक नै प्रभावित भएको थियो ।

सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी बताए ।

विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । नेकपाले पार्टीको आन्तरिक विवाद समाधानका लागि विष्णु पौडेलको अध्यक्षतामा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले छलफल गरिरहेको बेला आयोगले एमाले पार्टी दर्ता गर्ने निर्णय गरेको छ । पार्टी दर्ता भएपसँगै नेकपामा पुनः शंका उपशंका शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्