निषेधाज्ञाले सुनसान पोखरा, गाउँमा पनि तैनाथ छ प्रहरी



पर्वत । कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन भन्दै जारी गरिएको निषेधाज्ञाका कारण कास्की जिल्ला सुनसान बनेको छ। मंगलाबार राति १२ बजेदेखि सुरु भएको निषेधाज्ञाको कारण गण्डकी प्रदेशको राजधानी पोखरा पनि सुनसान बनेको छ।

जिल्ला प्रशासन कार्यालयले तोकेका बाहेकका सवारी साधनहरु गुड्न दिइएको छैन। पसलहरू पनि ठप्प रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार बढी व्यस्त हुने गरेका चोकहरूमा बढी प्रहरी तैनाथ गरिएको छ। निषेधाज्ञा उल्लंघन गरेका केही जिप र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिएर केही समय होल्डमा राखेपछि सम्झाएर पठाउने गरेको छ।

‘आज निषेधाज्ञाको पहिलो दिन हो, नागरिकले पालना पनि गर्नुभएको छ। अटेरी गरी सडकमा गुडेका सवारीका चालक र पैदलयात्रीलाई केही बेर होल्डमा राखेर सम्झाई बुझाई गरेका छौँ, आज पहिलो दिन भएकाले।’ उनले भने, ‘निषेधाज्ञाको कार्यान्वयन गराउने प्रायोजनको लागि मात्र साढे ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।’ पोखरा उपत्यका मात्र नभई गाउँ गाउँमा रहेका प्रहरीको टोली खटाइएर निषेधाज्ञाको पूर्ण कार्यान्वयन भएको प्रवक्ता हमालले बताए।

सराङकोट, कास्कीकोट, भदौरे, धम्पुस, घान्द्रुक, भरतपोखरी, लाचोक, घाचोक, सार्दीखोला, जनताचौतारा लगायतका ठाउँमा पनि प्रहरीको उपस्थित रहेको र ती प्रहरीले गाउँमा समेत घरबाहिर निस्कन नदिएको तथा सवारी चल्न बन्द गरेको हमालले बताए। ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउन नसकिएको भए पनि जनप्रतिनिधि र सतर्कता अपनाइरहेका नागरिकहरूले प्रहरीलाई सघाएका छन्। पछिल्लो एक साताको कोरोना परीक्षणमा संक्रमितको दर ह्वात्तै बढ्नुका साथै मृतकको संख्या समेत थपिँदै जान थालेपछि कास्कीमा निषेधाज्ञा लगाइएको हो।

मंगलबार राति १२ बजेदेखि सुरु भएको निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म जारी रहने छ। त्यसपछिको अवस्थामा के गर्ने भन्ने कुरा कोरोना संक्रमणको तत्कालीन अवस्थालाई हरेर निर्णय हुने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। निषेधाज्ञा लागू भएको भए पनि नागरिकको दैनिकीलाई सजिलो पार्न खाद्य सामाग्रीका पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने बनाइएको छ।

एम्बुलेन्स, दमकल, शववाहन, खाद्य सामग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दूध, दूधजन्य उत्पादन, माछा, मासु, पानी बोक्ने सवारी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी आउजाउ गर्न प्रयोग गर्ने सवारी, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजका सवारी, झण्डाबहाक सवारी, कूटनीतिक नियोगका सवारी, मालबहाक सवारी, प्रेस पास तथा परिचय पत्र भएका सञ्चारकर्मीका सवारी साधन बाहेकका कुनै पनि सवारीहरू निषेधाज्ञाको अवधिमा चलाउन नपाइने प्रशासनले जनाएको छ। कास्कीमा कोरोना पोजेटिभ रहेको दुईजनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्