नवनियुक्त सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त छ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केहि समय राखेपका कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराए ।

खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनित गरेको थियो । सो अवसरमा मन्त्री विश्वकर्माले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रकृया पनि अगाडि बढाइने जानकारी दिए ।

क्षेत्री सम्मानित

नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रुपमा कार्यरत पूर्व खेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित भएका छन् । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन् । सोही अवसरमा १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगत रुपमा क्षेत्रीलाई ५ हजार रुपैयाँ प्रदान गरे । क्षेत्रीलाई मुटु र आँखाको समस्यामा पनि रहेको करातेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा क्षेत्रीलाई नगद र मायाको चिनो हस्तान्तरण गरिएको थियो । नेपाल कराते महासंघद्वारा आयोजित कार्यक्रममा महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवाललाई मायाको चिनो हस्तान्तरण गरे ।

त्यसै अवसरमा १३ औं सागमा निर्णायकको भुमिका निर्वाह गरेका नेपाली एकेएफ रेफ्रीहरु राम लामा, राजेन्द्र कपाली, महेश रन्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र विआर मित्रलाई पनि मायाको प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रम १३ औं सागका प्रशिक्षक परिवारले प्रायोजन गरेको हो ।

भर्चुअल पुम्से हुने

काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगष्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

पुरुष/महिलामा समान ६–६ गरी १२ जनामा प्रतिस्पर्धा हुने छ । यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुने छ । पुम्से विधामा मात्र प्रतिस्पर्धा हुने छ । खेलाडीले अगष्ट २७ र २८ तारिखमा श्रब्यदृष्य पठाइ सक्नु पर्ने छ ।

प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गी निर्णायकका रुपमा परिचालन हुने छन् । खड्का कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो । खड्का साउन २० गते कार्यवाहक अध्यक्ष बनेका थिए ।

लोमसको सहयोग

लोमस फर्मासिउटिकल्सले राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई सेनिटाइजर र भिटामिन सीको क्याप्सुल प्रदान ग¥यो । लोमसका निर्देशक प्रणवजंग पाण्डेले उक्त सामाग्री लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्बन्धितलाई हस्तान्तरण गरे ।

 

प्रतिक्रिया दिनुहोस्