काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । यस अभियान अन्तरगत अबदेखि फोनपे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रतिकारोबार रू एक घट्याइने छ । यसरी घट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।
भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा रू १ घट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ । ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ’।
नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यही रिक्तता परिपूर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरु गरेको हो । यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिवद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिन्छ ।