सरकारले मात्रै कोरोनाको रोकथाम गर्न सक्दैन : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दिको सबै नियमहरु पालना गर्न अपील गरेका हुन् ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको मन्त्री थापाको भनाई छ । आइतबार गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताएका हुन् ।

‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दीका नियमहरुलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न । नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । म सबै आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु ।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपनि फेरी संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाको भनाई छ ।

पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो । लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको भन्दै उनले ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौ र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ । अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ । यी दुईवटै कुराहरुलाई अगाडि बढाइराखेको’, बताए ।

सरकारले देशभित्र प्रवेश गर्ने१० वटा नाका तोकेपनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताए । अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाको भनाई छ । ‘खुल्ला नाकाहरुलाई नियन्त्रण गर्न अहिले १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ । लुकिछिपि आउने केही मात्रामा भइपनि राखेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ । हिजोको अवस्था अहिले छैन्’, थापाले बोर्डरको अवस्थाबारे जानकारी दिए ।

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको भन्दै उनले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको बताए ।

‘अहिले दुईवटै संकट आएकाले जटिलता पैदा भएको छ । हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौं । कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति क्रियाशिल छौं । विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ तीन तहमा नै त्यो माध्यमबाट यसको नियन्त्रण र उद्धारको काम गरिराखेका छौं’, मन्त्री थापाले जानकारी दिए ।

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले भनाई छ ।

तालमेल नभएर समस्या
विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताए ।

बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनको भनाई छ । हरेक वर्ष पूर्व तयारी गरिएपनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहने गरेको मन्त्री थापाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्