
काठमाडौं । कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ । वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ ।
मृत्यु हुनेमा वडा सदस्य विष्टका २ छोरा र २ छोरी तथा दाजुका २ छोरी रहेका छन् । कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार रातको १२ बजेतीर पहिरो घरको छानो भत्काउँदै छिरेको थियो । सोही पहिरोले सुतिरहेको अवस्थामा पुर्दा उनीहरुलाई पुरेको हो ।
बास्तोलाका अनुसार वडा सदस्य विष्ट आफ्नो पत्नीसहित तल्लो तल्लामा सुतेको थिए र पहिरोले त्यहाँसम्म क्षति पुर्याउन नसकेकाले बाँच्न सफल भएको बास्तोलाको भनाइ छ ।
हाल मृतक ६ जना बालबालिकाको शव बाहिर निकालिसकिएको छ । यसैगरी जिल्लाकै नरहरीनाथ गाउँपालिकाको कुमाल गाउँका वडा नम्बर १ बिहीबार नै गएको पहिरोमा परि हजुरबुवा र नाती गम्भीर घाइते बनेका छन् ।





