दश वर्षे जनयुद्धका क्रान्तिकारी जनवादी गायक मोहित श्रेष्ठ (भिडियो सहित)



mohit shrestha

रोल्पा जंकोटमा जन्मिएका जनवादी गायक ‘मोहित श्रेष्ठ’ युद्धकालको निकै चर्चित नाम हो ।

वि.सं. २०५२–५३ सालको जनयुद्धमा होमिएका आफ्नो घरपरिवार त्यागेर माओवादी पार्टीका कार्यकर्ताका रुपमा चिनिएका मोहित श्रेष्ठसँग हामीले अन्तवार्ता गर्ने अवसर पायौँ ।

धेरै दुःख र संघर्ष गरेर अहिलेसम्म पनि आफ्नो पहिचान बनाउन सफल रहनेछन् । लगभग २०–२५ बर्षको अवधिमा उनको उपलब्धी खासै केही देखिएन । तरपनि उनी अहिले पछिल्लो समय भने लागिपरेका छन् । माओवादी युद्धका बेला उनले क्रान्तिकारी गीत कसले भन्छ क्रान्ति यहाँ सफल हुदैँन बोलको गीत गाउँदा उनी त्यो समयमा निकै चर्चित भएका थिए । उनले यो गीत गाइरहदाँ नेकपा माओवादीका नेताहरु पुष्प कमल दाहाल, बाबुराम भट्टराई, पम्फा भुषाल लगायत अन्य धेरै जना नेताहरुको आखाँ रसाएका थिए । त्यस बाहेक अन्य धेरै क्रान्तिकारी गीतहरुमा पनि उनले आवाज दिए । १–२ बर्ष जनवादी गायकको रुपमा चिनिएपनि त्यसपछि भने १०–११ बर्ष उनी हराए ।

खासगरि उनको सामु परिवेश फरक ढंगले उपस्थित भयो । जीवन संगिनी र छोरा छोरी सहित आफ्नै सानो घर संसार बन्यो । युद्ध बिस्राम पछी बस्तिभरीका अभावहरु पार लाग्ने छन् भन्ने उनको सोंचाई र बुझाई भन्दा फरक बन्यो देशको व्यबस्था ।

युद्ध बेला झैँ परिवर्तनका गित गाउने दिनहरुको बिट मार्नै लाग्दा जिन्दगीले थप संकटको भारी बोकेर उभियो । पढ्ने र धन कमाउने बेला मूल्य बिहिन आवाज बनाएर पार्टी र क्रान्तिलाई सुम्पिए । तर आज परिवर्तनको ढ्वांग फुकेर आएको क्रान्तिले यिनैको जिन्दगीबाट उल्टो महंगो मूल्य खोजि रहेको छ, ज्युउन गाह्रो बनाइ रहेको छ ।

त्यो समयमा सबैको लोकप्रिय बन्न सफल भएतापनि त्यसपछि भने उनी गुमनाम भए । कहाँ गए ? के गरे ? कुन पार्टीमा संलग्न भए ? कसैलाई पत्तो भएन । पार्टीका लागि धेरै संघर्ष गरेतापनि पार्टीले भने उनको लागि केही नगरेको जस्तो देखियो । जब उनी जनआन्दोलनमा जाने तयारीमा थिए, घरमा उनका आमाबुबाले नजानको लागि धेरै अनुरोध गर्दापनि उनी साथीसँगत र राजनीतिको भूतले गर्दाखेरि घरबाट निस्किए । जब उनी माओवादी पार्टीमा सामेल भए त्यसपछि सुरुमा घर छोडेर नजा भन्ने आमाबुबा अब घर फर्केर नआइज् बाबु, तलाई खोजी खोजी मार्छन् भनेर चिन्ता गर्न थाले ।

त्यो युवा अवस्थामा राजनीतिमा सामेल हुन्छु, आफ्नो एउटा राजनीतिक पद बनाउँछु भन्ने खालको सोच भएका उनी पछिल्लो समय यता न उताका भए । कारण के रहेछ भनेर हामीले प्रश्न राख्ने क्रममा उनले भने, मैले पार्टीमा निरन्तरता दिन सकिन । त्यसैकारण पछि परे । उनले जनवादी गीत गाउँदाखेरि भाुवक भएर प्रचण्ड र बाबुरामले गहँभरि आँशु पारेका थिए । त्यहि गीत रचना गर्ने पूर्ण घर्ती अहिले ५ नम्बर प्रदेशका सभामुख पदमा हुनुहुन्छ । तर त्यहि गीतमा स्वर दिने मोहित श्रेष्ठ भने यति पछाडी परेका छन् ।

जनवादी गीत गाएर मात्रै उनको जिविका चलेन । पार्टीले राम्रो ध्यान नदिदाँखेरि उनी यता न उताको भए । उनलाई अन्य धेरै पार्टीका कार्यकर्ताले हाम्रो पार्टीमा आइज, यो गर त्यो गर, तलाई त्यहाँ भन्दा धेरै फाइदा यहाँ हुन्छ भनेर फकाए पनि । तर उनी सच्चा आफ्नो बोलीमा अडिक भएका कारणले उनलाई अरुको चाप्लुसीले फरक पारेन । बरु अहिले अन्य विधाका गीतहरुमा आवाज दिन थालेका छन् ।

आफु संग भरपुर गला थियो तर गला चलाउन पैसा थिएन । आखिर युद्ध जितेर पनि अन्ततः पैसाकै अड्को हुँदो रहेछ । पैसा नभए मोहितको गलाको पनि के काम रहेछ र १ उनी संग प्रयाप्त पैसा हुँदो हो त आज काठमाडौंको रंगमञ्चमा मोहित श्रेष्ठ नामी कलाकार मध्ये एक पक्कै हुन्थे ।

बिकल्पमा आफु बाँच्न र घर संसारलाई बचाउन धन कमाउन विदेश पसे उनी । तर उनलाई त्यहाँ पनि भाग्यले साथ् दिएन । केवल ४ महिनाको छोटो अन्तरालमा रित्तो हात घर फर्किए ।

उनको शैन्य जीवन
२०५४/५५ सालमा नेपालमा जनयुद्धको पहिलो लडाकु सैन्य संरचना अन्तर्गत एउटा कम्पनि निर्माण भएको थियो । त्यसको कमान्डर हालका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ थिए । उक्त कम्पनि भित्र ३ वटा प्लाटुन थियो । रोल्पाको १ नम्बर प्लाटुन, रुकुमको २ नम्बर प्लाटुन र सल्यानको ३ नम्बर प्लाटुन थियो ।

मोहित श्रेष्ठ रोल्पाको एक नम्बर प्लाटुनको सदस्य थिए । उनले २०५८ साल सम्म सैन्य दस्तामा काम गरे । प्युठानको भिंग्री प्रहरी चौकी उनको पहिलो आक्रमण थियो । त्यसपछि घर्तीगाउँ प्रहरी चौकी, रुकुमकोट प्रहरी चौकी, जाजरकोट पाँच कटिया प्रहरी चौकी, डोल्पाको दुनै सदरमुकाम, झेवा खोला प्रहरी चौकी कारबाहीमा सहभागी सैन्य सदस्य थिए ।

सैन्य दस्तामा रहेर काम गर्दा उनी सांस्कृतिक विभागमा काम गर्थे । उनको गायकी र गित सिर्जना देखेर जनमुक्ति सेना त त्यसै मोहित थिए नै पछी उनको गायन विधालाई लिएर सर्बत्र चर्चा चुलिए पछि पार्टीले मध्य कमाण्ड अन्तर्गत प्रतिरोध सांस्कृतिक परिवारमा सामेल गराएको थियो ।

त्यसपछि उनले आफ्नो गायकी जादु प्रस्तुत गर्ने मौका पाए । प्रतिरोध सांस्कृतिक परिवारको प्रस्तुतिमा उनको जादुमयी आवाजले जनयुद्धको उद्गमस्थल रोल्पाको परिचयलाई अझै फराकिलो बनायो ।

शैन्य क्षेत्रमा कमान्डर पासाङको सैन्य योगदानको इतिहास र जनबादी गायक मोहित श्रेष्ठको जादुमयी आवाज युद्धको उद्गमस्थल रोल्पाका चिनारीहरु हुन ।

उसो त उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै लाखौ जिन्दगीहरु यसरि अदृश्य सपनाको खोजीमा हराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्