‘जसको छाक काटेर तलब आउँछ, उसको अनुहारमा खुशी ल्याउनु हाम्रो दायित्व हो’ : मुख्यमन्त्री शाही



सुर्खेत/खगेन्द्र हमाल

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रीसँग कार्य सम्पादनका लागि करार सम्झौता गर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि कार्यसम्पादन करार सम्झौता गरिने बताउनुभयो । कर्णाली प्रदेश सरकारको आव २०७६ र ७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वार्षिक प्रगतिको अवस्थाले आफूलाई गम्भीर बनाएको र यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रीहरुले मुख्यमन्त्रीसँग, सचिवले मन्त्रीसँग र मन्त्रालय मातहतका कार्यालय प्रमुखले सचिवसँग कार्यसम्पादन करार सम्झौता गरी साप्ताहिकरुपमा कार्यप्रगतिको प्रतिवेदन, समीक्षा र निर्देशन प्रणाली बनाएर बजेट कार्यान्वयनलाई एकदमै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोहि कसैले आगामी दिनमा विभिन्न कारण विभिन्न बहाना देखाएर कुनैपनी हालतमा पन्छिन नमिल्ने बताउनुभयो । वस्तुगत समस्या त हरेक प्रदेशमा पनि छन् तर बजेट कार्यान्वयन वार्षिक प्रगतिमा कर्णाली प्रदेश सधैं झैं पछि नै पर्ने परिपाटीको अन्य गर्नुपर्ने मुख्यमन्त्री शाहीले स्पष्ट पार्नुभयो । यतिबेला जनस्तरबाट सरकारका कर्मचारीहरुको योग्यता, क्षमता, नियत र कार्यसम्पादनको व्यापक टीका टिप्पणी आलोचना भैरहेको बेलामा यसतर्फ राष्ट्रसेवक कर्मचारी गम्भीर बन्नुपर्ने बेला भएको मुख्यमन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेशको भौगोलिक विकटता, कर्मचारी अभाव र कोभिड १९ ले निम्त्याएका विभिन्न चुनौती र समस्याका बीच प्रदेश सरकारले हासिल गरेको उपलब्धि कमजोर नभएको बताउँदै तीनवर्षे कार्यकालको अनुभवका आधारमा प्रदेश सरकारको अबको कार्य सम्पादन एकदमै प्रभावकारी हुनुपर्नेमा बिशेष जोड दिनुभयो ।

कतिपय पुर्वाधार क्षेत्रमा योजना निर्माणमा त्रुटि रहेको र सचिवको टेबलमा चक्कर लगाउनेलाई योजना दिने परम्परा अबदेखि सदाका लागि अन्त्य गर्नुपर्ने बताउँदै आवश्यकताका आधारमा योजना बनाउनुपर्ने र त्यस सम्बन्धित विकास कार्यक्रमको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा सबैलाई जानकारी दिनुभयो । कर्णाली प्रदेशमा रहेको गरिवी, भौगोलिक विकटता र अविकासको अवस्थालाई हेरेर कर्मचारीले सेवाभाव सहित काम गर्नुपर्ने बताउँदै ब्यक्तिगत स्वार्थ र आफ्नो जागिरका लागि काम गर्ने मानसिकताले गर्दा  कर्णालीको नभएको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीले जनता र राष्ट्रको हकहितका लागि ईमान्दारीपुर्वक काम गरिदिए मात्रै कर्णालीको मुहार फेरिनामा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । राजनीतिक नेतृत्व र कर्मचारीमा इमान्दारिता आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीले भन्नुभयो जसको छाक काटेर तलब आउँछ, उसको अनुहारमा खुशी ल्याउनु हाम्रो दायित्व हो।

प्रतिक्रिया दिनुहोस्