अवैध लागूऔषध सहित पक्राउ



काठमाडौं । बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय आर्यन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध र ३ हजार ७ सय ७० रुपैयाँ नगद सहित फेला पारी पक्राउ हो ।

सुनसरी, धरान उपमहानगरपालिका-२० कोका खोलाबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित धनकुटा पाख्रिबास नगरपालिका-८ बस्ने २९ वर्षीय सन्दिप राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले राईलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पस्थित सडकबाट ४ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईनसहित बेदकोट नगरपालिका-३ बिचपाटा बस्ने २० वर्षीय राकेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध र १ थान मोबाइलसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङ, गढवा गाउँपालिका-७ स्थित सडकबाट ५५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१५ प्रतिभा टोल बस्ने २३ वर्षीय रिहा जुदिन र सोही उपमहानगरपालिका बालुवाटार बस्ने २२ वर्षीय अरमान धुनिँया रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लु.३१ प १५७८ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्