सरकारको आलोचना गर्नेहरुको महामारीबिरुद्ध लड्न मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको पति सप्रियोस भन्ने टिप्पणी गरेका छन् । मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको उनको आरोप छ ।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलेचना गर्ने सबैलाई महामारीबिरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि लड्न सकिने उनले बताए । सत्ताका  निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा पनि केही बिग्रिदैन उनले भने ।

स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्छु, बेलाअनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले निगरानी गरिराखेका हुन्छन् । सबै परीक्षामा छौं र जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने हेक्का राख्यौं भने यो लडाईलार्ई सहजतापूर्वक समाधान गर्न सक्छौं मन्त्री ढकालले भनेका छन् ।

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए । कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए ।

जस्तोसुकै गीत आएपनि त्यसको सरकारले सिद्धान्तबाट नभइ व्यवहारबाट दिने प्रष्ट पारे । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्