आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै



काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

आजको दिन पाटनको प्रसिद्ध श्रीकृष्ण मन्दिर, मातातीर्थ, हनुमानढोका दरबार परिसर, गोठाटारको कृष्ण मन्दिर, मकवानपुर भैँसेको कृष्ण मन्दिर,  लगायतका सबै कृष्ण मन्दिरमा यो दिन पूजन हुने गर्छ । यद्यपि, यो वर्ष कोरोना महामारीका कारण घरमै बसेर कृष्णाष्टमी मनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्