काठमाडौं । आंशिक प्राध्यापकहरुले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सीटेबल जलाएका छन् । दुई वटा टेबल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जलाएका हुन् ।
क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरुले कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी पनि गरेका थिए ।
नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रुपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् । माग सुनुवाई नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिए ।