मध्यरातमा भ्रस्टाचारको फाईल मिलाउँदै गर्दा लेखापाल सहित ४ जना प्रहरीद्वारा गिरफ्तार



काठमाडौं । केही दिन अगाडी मात्र त्रिबेणी गाउँपालिका रुकुम पश्चिममा भएको भ्रस्टाचारको  कुरा बाहिर आएपछि लेखापाल हेमन्त केसी लगायतले मध्य रातमा कागजात मिलाउदै गर्दा ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

लेखापाल केसीले त्यहाँका कर्मचारीहरु हेमन्त केसी, बिकास केसी र त्रिबेणी गाउँपालिका रुकुम पश्चिमका नेकपा इन्चार्ज हिमाल केसीका छोरा भिमसेन केसी सहित ४ जनालाई  गिरफ्तार गरि सदरमुकाम लैजाँदै गरेको जानकारी परिवर्तन खबरलाई प्राप्त भएको छ ।

त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको थियो । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको थियो । त्यसै क्रममा उक्त कुराको कागजात मिलाउँदै गर्दा बिहिबार राति ४ जना प्रहरी फन्दामा परेका छन् ।

केसीले आफ्नो नाममा ८ लाख र विर्माको नाममा फरकफरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको थियो । उनले गाउँपालिकाको लेखा सहयोगीको रुपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका हुन् । घटनाबारे थाहा पाएपछि कार्यपालिकाले गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट खड्का तथा केही वडाध्यक्षहरु रहेको छानबिन कार्यदल बनाएर अध्ययन थालेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकको २४ लाख ७७ हजार रुपैयाँ लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले पुष्टि गरेका थिए । उनका अनुसार त्यसमध्ये पत्नीको नाममा गएको ८ लाख ८६ हजार रुपैयाँ गाउँपालिकाको सञ्चित खातामा जम्मा गरिसकिएको छ ।

लेखापालको खाताको ८ लाख र भतिजा सुवासको खातामा जम्मा भएको ७ लाख ९१ हजार भने फिर्ता नभएको प्रमुख प्रशासकीय अधिकृत रावलले बताए । भतिजाको खातामा पारिश्रमिक भनेर उक्त रकम पठाइएको पाइएको छ । सुवासको मासिक तलब २२ हजार रुपैयाँ मात्र हो ।

आर्थिक वर्ष २०७६/०७७ मा कार्यान्वयन भएका योजनामा बजेट अपुग भएको गुनासो बढेपछि गाउँपालिकाले आवश्यक अनुसन्धान गरेको थियो । थप अनियमितता हुनसक्ने भन्दै आर्थिक वर्ष २०७५र०७६ र २०७६/०७७ को सबै कागजात अध्ययन भइरहेको छानबिन समितिमा संलग्न एक वडाध्यक्षले बताए । ‘कार्यदलले हरेक योजना र स्रेस्ताको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘सरकारी रकम अरुको खातामा जम्मा गर्नुको कारण र यसमा क–कसको संलग्नता छ भन्नेबारे पनि खोजी गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्