
काठमाडौं । भक्तपुरमा आज स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर-चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्री भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीेले जानकारी दिए ।
स्कुटरले उनलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको हो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएको थियो ।
उपचारका क्रममा आज बिहान ८ बजे उनको मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए । प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा-६ छालिङका २२ वर्षीया आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।





