अध्यक्षद्वय ओली र प्रचण्डबिच टकराव : अब वार कि पार !



kp oli and prachanda

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बिचको टकरावले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब वार कि पारको अवस्थामा पुगेको छ ।

प्रचण्ड र ओलीबिच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास भएपनि त्यसले सकारात्मक परिणाम नदिदा पार्टी एकताको सम्भावना क्षीण भएको छ । यसरी अध्यक्षद्वयको टकरावले नेकपा फुटको संघारमा पुगेको छ ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाइ छाड्ने अडान लिएता पनि ओलीले भने कुनै पनि हालतमा सत्ताबाट नहट्ने अडान लिएका छन् । हिजोको एक कार्यक्रममा प्रचण्डले पार्टी फुटको संकेत गर्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् । लगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ग्याङ अफ फोरको संज्ञा दिदै सचिवालयका चार सदस्य प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई विदेशीको इशारामा नेकपा बिघटन गर्न लागेको आरोप लगाए । पदहरुको आकांक्षा र लोभले चार नेता पार्टी फुटाउन लागि परेको प्रेस सल्लाहकार थापाले टिप्पणी गरेका छन् । यसबाट पनि नेकपाको विवाद अझ प्रष्ट दखिन्छ भने अब पार्टी फुटको संघारमा रहेको स्पष्ट बुझिन्छ ।

सांसद तानातानको अवस्था रहेको नेकपामा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुलाई आकर्षित गर्न निकटस्थलाई परिचालन गरिरहेका छन् । यसै अनुरुप २० सांसद अहिले ओली पक्षमा पुगेका छन् । ओली संसदीय दलमा स्पष्ट बहुमतमा रहेको दाबी गरिएको छ । तर, प्रचण्ड र माधव नेपाल पक्षधरका सांसद यताउता नहुने भन्दै उक्त पक्ष ढुक्क छ । तर, बहालवाला मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्ट ओलीको साथमा पुगेको देखिदैछ । माधव नेपाल पक्षका दोस्रो पुस्ताका केही नेताहरु पनि ओली पक्षमा पुगेका छन् । तर, ओलीसँग असन्तुष्ट केही सांसदहरु पनि प्रचण्ड र ओलीसँग नजिकिदैछन् । यसरी दुवै पक्ष सांसद तानातानमा सक्रिय भएका छन् ।

पार्टी फुटको अवस्थामा पुगेमा नेकपाभित्र ओली पक्षको योजना अनुसार बामदेवलाई कार्यवाहक अध्यक्ष बनाउने र काँग्रेससँग मिलेर जानेसम्मको ओलीको तयारी रहेको देखिन्छ । प्रधानमन्त्री ओली काँग्रेस सभापति देउवासँग ढुक्क देखिएका छन् ।

सम्भावित दुर्घटनालाई दृष्टिगत गरी ओली र प्रचण्ड आ–आफ्नो तयारीमा जुटेका छन् ।

अहिलेको लडाई ओली गुट र पार्टीबिचको अन्तरविरोध : बरिष्ठ नेता खनाल
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र चुलिदै गएको विवाद ओली गुट र पार्टी बिचको अन्तरविरोध रहेको बताएका छन् ।

उनले नेपाली जनता र आम कार्यकर्तामा धेरैखालका भ्रमहरु रहेको जनाए । आफूहरु आन्तरिकरुपमा कमिटीगत लडाइँ लडिरहेका बताउँदै नेता खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समझदारीमा रुपान्तरित गर्न सकिन्छ कि भन्ने कुराहरुमा प्रयत्न भईरहेको बताए ।

बरिष्ठ नेता खनालद्वारा व्यक्त गरिएका विचारहरुको सम्पादित अंश :
तपाई हामीलाई थाहा छ, कमरेड पुष्पलालले यो देशमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र नयाँ जनवादी क्रान्तिको थालनी गर्नुभयो । त्यो क्रान्तिको क्रममा अनेकन चरणहरु, अनेकन घुम्तीहरु र अनेकन मोडहरु पार गर्दै अगाडि बढेर आयो । २०६२/०६३ मा आएपछि हामीले यो देशमा सुरुवात भएको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । सफलतापूर्वक सम्पन्न गर्‍यौं । हाम्रो आफ्नै देशको विशिष्ठता अनुरुप सम्पन्न गर्‍यौं ।

जनवादी क्रान्ति सम्पन्न भइसकेको छ । यसलाई पुँजीवादी-जनवादी क्रान्ति भन्नोस्, वा कसैले त्यसलाई जनताको बहुदलीय जनवादी क्रान्ति पनि भन्ने गरेका छन् । कसैले त्यसलाई राष्ट्रिय जनवादी क्रान्ति पनि भन्ने गरेका छन् । कसैले जनताको जनवादी क्रान्ति पनि भन्ने गरे । तर, जसले जे भने पनि यथार्थमा, सारमा हामीले ०६२/०६३ को क्रान्तिको दौरान यो देशमा पुँजीवादी-जनवादी क्रान्ति सम्पन्न गयौं ।

यो क्रान्ति सम्पन्न भइसकेपछि हामी स्वाभाविकरुपमा समाजवादी क्रान्ति र निर्माणको युगमा प्रवेश गर्‍यौं ।

ऐतिहासिक भौतिकवादलाई ध्यानमा राख्ने हो भने एउटा सामाजिक-आर्थिक संरचना समाप्त हुनेवित्तिकै अर्को सामाजिक आर्थिक संरचना सुरु हुन्छ । एउटा क्रान्तिको प्रक्रिया समाप्त हुनेवित्तिकै अर्को क्रान्तिको प्रक्रिया सुरुवात हुन्छ ।

आमरुपमा क्रान्तिहरु दुईवटा धारमा विभाजित हुने गरे : एउटा जनवादी क्रान्ति र अर्को समाजवादी क्रान्ति । विकसित देशहरुमा समाजवादी क्रान्ति मात्रै भयो । तर, विकासोन्मुख मुलुकहरुका क्रान्तिहरु दुईवटा भागमा विभाजित हुन्छन् भनेर माओत्सेतुङले भन्नुभो । त्यसअनुरुप नै हाम्रो क्रान्ति दुईवटा भागमा विभाजित भयो । यसअनुरुप पहिलो चरण हामीले समाप्त गर्‍यौं । अब हामी दोस्रो चरणमा प्रवेश गरेका छौं ।

दोस्रो चरणमा प्रवेश गर्नु भनेको एउटा ऐतिहासिक उपलब्धी हो । यो उपलब्धी प्राप्त भइसकेपछि हामीले दुईवटै पार्टीहरु एकतावद्ध पनि गर्‍यौं । नयाँ संविधान पनि निर्माण गर्‍यौं । नयाँ निर्वाचन गर्‍यौं र निर्वाचनबाट असाधारण उपलब्धी हासिल गर्‍यौं । हामीले केन्द्रमा दुईतिहाई बहुमतको सरकार बनाएका छौं । ६ वटा प्रदेशहरुमा हाम्रै सरकार छन् । स्थानीय तहमा ६० प्रतिशत भन्दा बढी हामीले जितेका छौं । यो असाधारण अवसर र अत्यन्त ठूलो उपलब्धि हो ।

यस्ता उपलब्धीहरु प्राप्त गरिसकेपछि हामी अब समाजवादतर्फ कसरी जाने ? संविधानले समाजवादको आधार पनि तयार गरेको छ, अब हामीले अघि बढ्ने बाटो के हो ? अब यसबारे छलफल गर्ने, विचार गर्ने, विश्लेषण गर्ने र एउटा संश्लेषण गरेर नेपालको आफ्नै मौलिकतासहितको समाजवाद यस्तो हुन्छ भनेर समाजवादी कार्यदिशा निर्माण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

सरकार बन्यो । यो सरकार एउटा पुँजीवादी ढाँचा र ढर्राको सरकार होइन । एउटा पुँजीवादी पार्टीले बनाएको सरकार होइन, कम्युनिस्ट पार्टीले बनाएको सरकार हो । अहिले हामीले अपनाएको व्यवस्था संसदीय नै भएता पनि यो परम्परागतखालको संसदीय व्यवस्था होइन, परम्परागतभन्दा केही भिन्न विशेषतासहितको संसदीय व्यवस्था हो । यसलाई हामीले संविधानमा उल्लेख गरेका छौं ।

यो व्यवस्थाभित्र अब सरकार कसरी सञ्चालन गर्ने ? पुरानो संसदीय व्यवस्थामा प्रधानमन्त्री बनेपछि ऊ ‘अल इन अल’ हुन्छ । उसैले क्याबिनेट निर्माण गर्छ, नीति निर्माणहरु सारा उसैले गर्छ । सम्पूर्ण कुरा उसैले सञ्चालन गर्छ । तर, हामी त्योभन्दा भिन्न अवस्थामा छौं । समाजवादको दिशातर्फ जाने कम्युनिष्ट पार्टीको नेतृत्वमा यो सरकार बन्यो । यो सरकार स्वाभाविकरुपले प्रधानमन्त्री ‘अल इन अल’ हुने सरकार होइन । सुरुदेखि नै हामीले नयाँ अवधारणाका आधारमा अगाडि जानुपर्ने आवश्यकता थियो । तर, त्यही पुँजीवादी ढाँचा र ढर्रामा यो सरकारको सञ्चालन हुन थाल्यो ।

पार्टीले उहाँ (ओली)) लाई प्रधानमन्त्री बनायो । पार्टीले निर्वाचन लड्यो । संसदीय दलले निर्वाचन गर्‍यो । तर, त्यो संसदीय दल र पार्टीलाई उहाँले आफ्नो उचाइमा पुग्ने भर्‍याङ बनाइदिनुभयो । न संसदीय दलसँग मतलब छ । न पार्टीसँग मतलव छ । न पार्टीका नीतिसँग मतलव छ । न घोषणापत्रसँग मतलव छ । न हाम्रा उद्देश्यसँग मतलव छ । कुनै पनि कुराहरुसँग मतलव नराखिकन उहाँले क्याबिनेट फर्मेसन गर्नुभयो ।

केही कुराहरुमा अर्का अध्यक्षसँग शायद अर्को समूह पनि एकतावद्ध भएको हुनाले सल्लाह लिनुभयो होला, तर पार्टी कमिटीसँग उहाँले कहिल्यै पनि सल्लाह गर्नुभएन । पार्टी कमिटीसँग सल्लाह गरेर उहाँले क्याबिनेट बनाउनुभएन । उहाँले आफ्नो क्याबिनेटमा पूर्वएमाले पनि आफ्नो गुटका मान्छेहरु राख्नुभो । त्यो ढंगले क्याबिनेट बन्यो ।

त्यही ढंगले राष्ट्रिय योजना आयोग बन्यो । अब समाजवादतर्फ जाने हो भने नयाँ प्लानिङ कमिसनले कसरी काम गर्ने ? योजना आयोगको संरचना कस्तो बनाउने ? त्यहाँ कस्ता मान्छेहरुलाई राख्ने । यो कुरामा गम्भीरतापूर्वक सोच्नुपथ्र्यो, यसबारे सोचिएन । ज-जसलाई मन लाग्यो, त्यसलाई उहाँले प्लानिङ कमिसनमा लानुभयो । त्यो प्लानिङ कमिसनका एउटा सदस्य सुशील भट्ट हुन् । उनी आफैंमा कांग्रेस हुन् । उनी विभिन्न एजेन्ट हुन् । त्यस्ता मान्छेलाई लिएर प्लानिङ कमिसन बनाइयो । त्यस्तो प्लानिङ कमिसनले के गर्ने ?

नियुक्तिका कुराहरुमा पार्टी कमिटीमा कहिल्यै सल्लाह भएन । पार्टीसँग नसोधिकन, पार्टीको सल्लाह नलिइकन, विचार-विमर्श नगरिकन एकलौटी ढंगबाट नियुक्तिका कामहरु गर्नुभएको छ । सुशील भट्टसम्म आइपुग्दाखेरि यही देखिएको छ । यसरी मनपरि ढंगबाट चल्ने काम भएको छ ।

राजदूत नियुक्तिमा त्यस्तै छ । राजदूत नियुक्तिमा पनि उहाँले आफ्नो गुटमा मात्रै होइन,आफ्नो इन्ट्रेस्ट ग्रुप -स्वार्थ समूह)का मान्छेहरुलाई पनि नियुक्ति दिने कामहरु गर्नुभयो ।

अरु कम से कम नीति कार्यक्रमहरुमा, मुलुकको सामाजिक-आर्थिक संरचनाहरु निर्माण गर्ने कुराहरुमा, यसमा चाहिँ केही बुद्धि पुग्छ कि भनेर हामीले हेर्‍यौं । तीन-तीनवटा नीति कार्यक्रमहरु आए । यी नीति कार्यक्रमहरु सम्पूर्णरुपले पुँजीवादी नीति कार्यक्रमहरु हुन् । टेक्निकल काममा, सडक निर्माणको काम पुँजीवादी हो कि समाजवादी भनेर चिन्न सकिँदैन, तर जुन ढंगले नयाँ सामाजिक- आर्थिक संरचना निर्माण गर्नुपर्ने थियो, समाजवादको संचरना निर्माण गर्ने हिसाबले नीति कार्यक्रमहरु आएनन् । उदार पुँजीवादी प्रणाली अन्तरगतका नै कार्यक्रमहरु आए ।

त्यसैगरी बजेट आयो । तीनवटा बजेट आए । तर, बजेटलाई जुन प्राथमिकताका साथ ल्याइनुपथ्र्यो, जस्ता आर्थिक र मौद्रिक नीतिहरुलाई अगाडि सारिनुपथ्र्यो, त्यो भएन । बजेट पनि उदार पुँजीवादी दृष्टिकोणबाट नै ल्याउने काम भयो । बजेटमा समाजवादको ‘स’ पनि छैन । एउटा शब्द छ समाजवाद उन्मुख भन्ने । यसले गर्दाखेरि यो सरकार अग्रगतिमा जान सकेन ।

अनेकन दुर्गन्धित मान्छेहरुलाई नियुक्त गर्ने काम गरियो । सुशील भट्टजस्ता मान्छेहरु, कमिसन एजेन्टहरु उहाँका बासस्थानमा जुनसुकै बेलामा पनि पुग्न सक्ने ।

मनमोहन अधिकारीका पालामा विकासको दृष्टिकोणले हामीले ‘९ स’ का कार्यक्रमहरु ल्याएका थियौं । कुनै पनि क्षेत्रमा विवाद भएन । हामीले अरु पनि सरकार सञ्चालन गर्‍यौं, तर विवाद भएन । तर, यो सरकार सञ्चालन भएको अढाइ वर्ष भयो । अढाई वर्षमा त विकास- निर्माण गर्ने हो भने एउटा दिशा दिन सकिन्थ्यो । दुई-चार महिना, एक वर्षमै धेरै कुरा गर्न सकिँदैन । तर, तीन-तीनवटा बजेट आइसके ।

लेनिनले के भन्नुहुन्छ भने कुनै पनि घटना एकपटक घट्यो भने त्यो आकस्मिक हुन्छ । तर, एकचोटि घट्यो, दुईचोटि घट्यो, तीनचोटि घट्यो भने त्यो ठाउँमा कुनै न कुनै नियमले काम गरेको हुन्छ भन्नुहुन्थ्यो । अहिले हामीले तीनवटा बजेट ल्यायौं । एउटा बजेटमा राम्रो तयारी भएन कि भनेर हामीले शंकाको लाभ लिन सकिन्छ । तर, दोस्रो बजेट आयो त्यही लिक, तेस्रो बजेट आयो त्यही लिकको, खोई त अग्रगमन ? खोई समाजवाद ? समाजवादको के नीति आयो ?

हामीले ०६२र०६३ को जनआन्दोलन घोषणा गर्दा त्योबेलादेखि नै भन्दै आएका छौं, हामीले अब नयाँ अर्थतन्त्र निर्माण गर्नुपर्छ । तीनखम्बे अर्थतन्त्र निर्माण गर्नुपर्छ भन्दै आयौं । त्यो तीनखम्बे अर्थतन्त्रको खम्बा खै ? अहिले कुनै खम्बाहरु हामीले बनाउन सकेका छैनौं ।

त्यसो हुनाले हामी अहिले यो खालको राजनीतिक प्रवृत्तिका विरुद्ध लड्दै छौं, यो खालको वैचारिक प्रवृत्तिका विरुद्ध लड्दैछौं ।

अब हामी समाजवाद स्थापनाको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अबको समाजवाद विश्व सर्वहारा वर्गको अग्रदूत कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव हुन्छ । उसको सचेत प्रयत्नद्वारा मात्र निर्माण हुन्छ, स्वतस्फूर्त रुपमा निर्माण हुँदैन । मार्क्सवादले यो घोषणा गरेको छ ।

तर, खै ? आज कम्युनिस्ट पार्टीलाई यो मतलबै छैन । कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यहरुलाई हाम्रा सम्माननीय प्रधानमन्त्री, आरदणीय अध्यक्ष हुल्लडबाजहरु हुन् भन्नुहुन्छ । हुल्लडबाज ! अनि केन्द्रीय कमिटीको बैठक बोलाऔं न भन्दाखेरि केन्द्रीय कमिटीका सदस्यहरुलाई सडकछापहरु भन्नुहुन्छ ।

समाजवाद भनेको हाम्रो देशको विल्कुल नयाँ यात्रा हो । त्यो नयाँ यात्रामा जाने कार्यदिशा के हुन्छ ? सिद्धान्त के हुन्छ ? लक्ष के हुन्छ ? नीति के हुन्छ ? कार्यक्रम के हुन्छ ? यी कुराहरु हामीले निर्धारण गर्नुपर्ने हुन्छ । र, पार्टी संगठन सम्पूर्णरुपमा परिचालित हुनुपर्छ । संगठनात्मक सिद्धान्त के हो, विधि के हो, पद्दति के हो, यसलाई पालना गरेर अगाडि जानुपर्ने हुन्छ । यसमा नीति र विधि पालना नगरिकन हामी कहिल्यै अग्रगमनतर्फ जान सक्दैनौं ।

अहिले वैचारिकरुपले हेर्दाखेरि अलपत्र अवस्था देखिन्छ । राजनीतिक रुपले दिशाहीनताको अवस्था देखिन्छ ।  सैद्धान्तिकरुपले पनि अलपत्र अवस्था देखिन्छ । कहाँसम्म जाने हो ? कमिसनखोरहरुको घेराऊमा बसेर हामी अग्रगमनको यात्रा गर्न सक्छौं ? यो सम्भव छैन ।

त्यसोभएको हुनाले हामीले पार्टीभित्रका यी प्रवृत्तिहरुका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता छ । यी प्रवृत्तिहरुलाई हामीले व्यवस्थित रुपले अगाडि ल्याएका छौं । यसलाई डकुमेन्टेसन गर्नुपर्ने आवश्यकता छ । आवश्यकता अनुरुप पार्टीले यसलाई डकुमेन्टेसन गर्छ ।

यो पनि पढ्नुहोस् : 

राजनीतिमा असम्भव भन्ने नै हुँदैन, प्रचण्ड र बिप्लव एउटै मञ्चमा देखिनेछन् : कृष्णप्रसाद धमला ‘गम्भीर’

पार्टी नेता र विज्ञसँग प्रधानमन्त्री ओली असन्तुष्ट

नेपाली राजनीतिका ओपन-सेक्रेट ‘प्रचण्ड’

‘प्रचण्ड’ को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

प्रतिक्रिया दिनुहोस्